२५ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ । पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गर्नुभएको थियो तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उहाँबाट हस्ताक्षर गरिनुपर्ने थियो ।
क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ । यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँ देखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ । उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ ।
हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ । यसले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।
पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गर्नुभएको थियो । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।
गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गर्नुभएन, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गर्नुभयो ।