मङ्गलबार, पुष ०९, २०८१

आयुर्वेद चिकित्सालयमा बर्सेनी बिरामीको सङ्ख्या वृद्धि


२० कात्तिक, दाङ । रोल्पा सिउलीबाङका ७१ वर्षीया सरुमा विक तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा भेटिनुभयो । पेट दुख्ने, खान मन नलाग्ने समस्याले चिकित्सालय आउनुभएका उहाँले धेरै ठाउँमा उपचार गर्दा पनि ठिक नभएपछि यहाँ उपचार गर्न आएको बताउनुभयो ।

उहाँका श्रीमान् जीतबहादुर पेट दुख्ने समस्या हुँदा यही चिकित्सालय आउनु भएको थियो । “यहाँ राम्रो उपचार हुन्छ, भन्ने सुनेर आएको हुँ”, उहाँले भन्नुभयोे, “हामी जस्ता गरिबले सहजै उपचार पाउने अस्पताल रहेछ, यहाँ आएर उपचार गरेपछि मात्र थाहा भयो” ।

चिकित्सालय परिसरमै भेटिनुभएका घोराही उपमहानगरपालिका –९ कर्मटुवाका ७६ वर्षीय तिलकबहादुर खत्री हातखुट्टा दुख्ने, चिलाउने समस्या लिएर आएको बताउनुभयो । “२५ रुपैँयामा दर्ता गरेर उपचार गर्न पाइने रहेछ । उपचार पनि राम्रो रहेछ, मेरो समस्या कम भयो, त्यसैले डाक्टरले १५ दिनमा बोलाउनुभएको थियो र आएको हुँ,” उहाँले भन्नुभयो । २३ प्रकारका अ‍ैषधि निःशुल्क पाएको र सस्तो भएको उहाँले बताउनुभयो ।

चिकित्सालयमा अन्तरङ्ग, बहिरङग, कायाचिकित्सा, स्त्री÷प्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, छ महिनासम्मका आमालाई औषधि, पञ्चकर्मसम्बन्धी सेवा, पूर्वकर्म, सेरापोक योगा, प्रोमोटिम योगा, सर्जरी, मलद्वार, पायल्स, फिस्टुलाको उपचार गरिने चिकित्सालयका सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिनुभयो । अस्पतालमा आउने बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था आएमा न्यून शुल्कमा भर्ना गरिने उहाँले बताउनुभयो ।

विभिन्न प्रकारका ‘थेरापी’ गरेर आयुर्वेदिक औषधिको प्रयोग गरी उपचार गरिने र उपचार पछि बिरामी निको हुनेक्रम बढेको उहाँको भनाइ छ । प्रादेशिक आयुर्वेद चिकित्सालयका प्रमुख एवं निर्देशक डा सन्तोषकुमार ठाकुरले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । चिकित्सालयमा क्षारसूत्र, पञ्चकर्म, अग्निकर्मलगायतका सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

चिकित्सालयका अनुसार दाङसहित रोल्पा, सल्यान, रुकुम, डोल्पा, प्यूठान, सुर्खेत, नेपालगञ्ज लगायतका ठाउँबाट उपचारका लागि यहाँ बिरामी आउने गरेका छन् । प्रमुख ठाकुरले भन्नुभयो, “अन्य ठाउँमा उपचार गर्दा निको नभएका बिरामी यहाँ आएर उपचार गरी निको भएका थुप्रै उदाहरण छन् ।

उहाँका अनुसार नेपालकै शय्यायुक्त आयुर्वेद चिकित्सालय अन्तर्गत बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय दोस्रो ठूलो हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक सुविधा छ । यस चिकित्सालय विशेषगरी पायल्स र फिस्टुलाको उपचार केन्द्र बनेको उहाँले बताउनुभयो । अझैपनि चिकित्सालयमा भौतिक पूर्वाधारको अभाव छ । ओपिडि र इन्डोर एउटै भवनमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रमुख ठाकुरले बताउनुभयो ।

यस चिकित्सालयलाई ५० शय्यामा स्तरोन्नति गर्न सके अझै राम्रो हुने उहाँको भनाइ छ । विसं २०४८ मा स्थापना भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयलाई हाल प्रादेशिक आयुर्वेद चिकित्सालयको रुपमा विकास गरिएको हो ।

चिकित्सालयका अनुसार पाँच वर्षयता बर्सेनी यहाँ उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा २४ हजार चार सय २१, आव २०७८/७९ मा ५० हजार ९६ र आव २०७९/८० मा ७१ हजार दुई सय २३ बिरामीले यहाँबाट उपचार सेवा लिएका थिए । गत आव २०८०/८१ मा उक्त सङ्ख्या वृद्धि भइ एक लाख नौ हजार आठ सय ५२ पुगेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading