09/23/2025, 11:19:10
मङ्गलबार, असोज ०७, २०८२

कक्षा १२ को पूरक परीक्षा आज, गुल्मीबाट ८६६ विद्यार्थी सहभागी हुँदै

©SEE STUDENTS

गुल्मी, असोज ७ : गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को मौका (पूरक) परीक्षाका लागि ८६६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आज (मङ्गलबार) देखि सुरु हुने कक्षा १२ को पूरक परीक्षामा यस जिल्लाबाट ५० विद्यालयका ८६६ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

परीक्षा बिहान ११ देखि २ बजेसम्म सञ्चालन हुने छ । एकाइ प्रमुख घिमिरेका अनुसार पूरक परीक्षा सञ्चालन गर्नका लागि यस जिल्लामा तीन वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । तीन परीक्षा केन्द्रमा ८२४ परीक्षार्थी सहभागी हुनेछन्। तम्घासस्थित महेन्द्र माविमा रहेको परीक्षा केन्द्रमा २० विद्यालयका ३४७ जना, सिद्धबाबा माविमा रहेको परीक्षा केन्द्रमा २५ विद्यालयका ३१४ जना र ज्ञानोदय माविमा रहेको परीक्षा केन्द्रमा १९ विद्यालयका १६३ जना परीक्षार्थी सहभागी हुने उहाँले बताउनुभयो ।

यस जिल्लाका चार विद्यालयको परीक्षा केन्द्र पायक पर्ने गरी गण्डकी प्रदेशको स्याङ्जाको गल्याङ अथवा वालिङमा सिफारिस गरिएको उहाँले बताउनुभयो । जिवनोद्वार मावि, हर्मिचौर मावि, भगवती मावि र देउराली माविका ४२ जना परीक्षार्थी यहाँ सहभागी हुनेछन् । बुधबारसम्म चल्ने पूरक परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि निर्धारित परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्ति गरिएको छ ।

शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालनका लागि आवश्यक शान्ति–सुरक्षाको व्यवस्थाका लागि जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गरिएको उहाँले बताउनुभयो । परीक्षा सञचालनको अवधिमा सम्पूर्ण परीक्षा केन्द्रहरुमा जिल्ला परीक्षा समन्वय समितिले परीक्षाको अनुगमन गर्ने भएको एकाई प्रमुख घिमिरेले बताउनुभयो ।

– रमेश विश्वकर्मा