09/29/2025, 11:42:51
सोमबार, असोज १३, २०८२

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्न विद्युत् प्राधिकरणको आग्रह


काठमाडौँ, असोज १३ : नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्क लाइनमार्फत विद्युत् खपत गरेका तर त्यसबापतको बक्यौता नतिरेका ग्राहकलाई महसुल भुक्तान गर्न आउन सूचित गरेको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै आगामी कात्तिक १७ सम्म बाँकी बक्यौता भुक्तानीका लागि आउन सूचित गरेको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रीको पदभार ग्रहण गर्दै यस्तो बक्यौता असुलीको निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । सोही अनुसार उहाँकै अध्यक्षतामा शुव्रmबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले २०७२ माघदेखि वैशाखसम्मको बक्यौता भुक्तानी मासिक किस्ताबन्दीमा गर्ने सुविधा उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

महसुल भुक्तानी २८ किस्तासम्म बुझाउने सुुविधा दिने गरी प्राधिकरणले २१ कार्यदिनभित्र प्रव्रिmयामा आउन भनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तत्कालीन प्राधिकरणका अध्यक्ष तथा ऊर्जामन्त्री दीपक खड्काको समयमा गठन गरिएको प्रशासकीय पुनरवलोकन समिति पनि खारेज गरिएको छ ।

प्राधिकरणको पछिल्लो विवरण अनुसार ४९ उद्योगको आठ अर्ब २६ करोड रुपियाँ बक्यौता थियो । यीमध्ये केही उद्योगले किस्ता तिर्न सुरु गरेका पनि थिए तर अघिल्लो सरकारले पुनरवलोकनको प्रव्रिmया थालेपछि केही किस्ता भुक्तानी पनि रोकेका थिए । रकम तिर्नै नमानेकामा अहिले ३४ उद्योग छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक रहँदा घिसिङले बक्यौता नतिर्ने उद्योगमा पटक पटक लाइन काट्नुभएको थियो । सरकार परिवर्तनपछि भने यो काम रोक्न लगाइएको थियो । यही विषयकै कारण सरकारले घिसिङलाई गत चैत ११ गते कार्यसम्पादनमा कमजोर भन्दै प्राधिकरण कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो ।