09/29/2025, 11:44:47
सोमबार, असोज १३, २०८२

धौलागिरि हिमाल आरोहण सुरु


म्याग्दी, असोज १३ : यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ ।

सभेन समिट टे«क्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट टे«क्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए ।

पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ ।

गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो ।

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..