नवलपुर, असोज ५ : भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग. २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै दुम्कीबास आइपुग्न उहाँलाई झन्डै नौ घण्टा लाग्यो । भारतको हैदराबादबाट काठमाडौँ सामान पुर्याउन आएका लरीचालक सन्तोष यादव बिहीबार साँझ ८ बजेदेखि दाउन्नेका जाममा फस्नुभयो । उहाँले शुक्रबार साँझ ४ बजे मात्र दाउन्ने सडकखण्ड छिचोल्न सक्नुभयो ।
बुटवलका सुशील पाण्डे काठमाडौँमा क्याम्पस बिदा भएपछि शुक्रबार घर फर्किंदै हुनुहुन्थ्यो । बुटवल घर भएका पाण्डे दिउँसो २ बजेतिर दुम्कीबासमा भेटिनुभएको थियो । उहाँसँगैका साथीहरू पनि बसमा सँगै यात्रारत थिए । उहाँहरू साँझ ६ बजेसम्म दुम्कीबासमै जाममा पर्नुभयो । उहाँहरू मात्रै होइन, काठमाडौँबाट बुटवल, पाल्पा, दाङ, प्युठान, अर्घाखाँची, नेपालगन्ज, सुर्खेतलगायतका ठाउँ जानका लागि यो मार्ग प्रयोग गर्ने हरेकले यस्तै सास्ती खेप्नु परिरहेको छ । बर्दघाटदेखि दुम्कीबाससम्मको झन्डै १४ किलोमिटर सडकखण्डमा पूरै सवारीसाधनको लामो लाइन लाग्ने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले कात्तिक १० सम्म क्याम्पस बिदा दिएको र असोज ६ गते घटस्थापनादेखि दसैँ सुरु हुने भएकाले काठमाडौँलगायतका सहर अध्ययनरत विद्यार्थी र विदेशमा रहेका नेपाली दसैँ मान्न घर फर्कने क्रम सुरु भइसकेको छ तर यो पटक पनि दसैँ मान्न घर फर्कनेले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेका कारण सहज यात्रा गर्न नपाउने भएका छन् । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिको लापर्बाही र ढिलासुस्तीका कारण यो पटकको दसैँमा पनि यात्रा सहज नहुने भएको हो । बुधबारदेखि दाउन्ने सडकखण्डमा सडक नियमित हुन सकेको छैन ।
बुधबार बिहानैदेखि दाउन्नेको विश्वकर्मा बाबा मन्दिरनजिकै सडक अवरुद्ध हुन पुगेको थियो भने बिहीबार साँझदेखि दाउन्नेको खुर्सानी खोला र शुक्रबार दिउँसो ६५ मोडनजिकै पहिरो खस्दा यो सडक अवरुद्ध हुन पुग्यो । तीन दिनमा तीन पटक सडक पूर्ण रूपमा अवरुद्ध भयो भने शुक्रबार साँझसम्म दाउन्ने सडकखण्डमा बर्दघाटदेखि दुम्कीबाससम्म १४ किलोमिटरभन्दा लामो सवारीसाधनको जाम परेको थियो ।
वर्षाका कारण शनिबार पनि सडक अवरुद्ध हुन पुग्यो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनक बन्जराका अनुसार दाउन्नेमा सडक बेला बेलामा अवरुद्ध हुँदा यात्रुले निक्कै सास्ती बेहोर्नु परेको छ । दाउन्नेको १४ किलोमिटर सडक पार गर्न सवारीसाधनलाई १० देखि १६ घण्टासम्म लाग्ने गरेको छ । साना तथा ठुला सवारीसाधन, लरी, ट्रक, यात्रुवाहक बस, शववाहनदेखि एम्बुलेन्ससम्म जाममा पर्ने गरेका छन् ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले गत हप्ता नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी र सडक आयोजनाका कर्मचारीलाई दसैँअघि दाउन्नेको सडक कालोपत्रे वा ढलानको काम सक्न निर्देशन दिनुभएको थियो तर निर्देशन अनुसार कुनै काम हुन सकेको छैन । प्रजिअ पाण्डेले आफूले दिएको निर्देशन र उनीहरूको प्रतिबद्धता अनुसार काम नभएको बताउनुभयो । पाण्डेले भन्नुभयो, “काम गरेको देखिँदैन । दाउन्नेमा अहिलेदेखि नै सास्ती हुन थाल्यो, दसैँमा यात्रु तथा सवारीसाधनको चाप झन बढ्छ । भोलि बैठक बसेर हामी यस विषयमा थप छलफल गर्दै छौँ ।”
दाउन्नेको १४ किलोमिटर सडकखण्डमध्ये बर्दघाट (पश्चिम नवलपरासी) खण्डमा तीन किलोमिटर सडक कालोपत्रे भएको छ । त्यसका साथै अहिले तीन किलोमिटर थप ढलानको काम सकिएर ढलानबाट सवारीसाधन आवतजावत गर्न थालेका छन् । अन्य दुई किलोमिटर सडक एकतर्फी ढलान सकिएको सडक आयोजनाले जनाएको छ । यो अनुसार अब बाँकी छ किलोमिटर मात्र छ । जसले यात्रुलाई सास्ती दिइरहेको छ ।
सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालका अनुसार दसैँअगाडि दाउन्ने सडकखण्डमा अन्य भौतिक संरचना निर्माण हुने सम्भावना छैन । ढकालले भन्नुभयो, “यस्तै पानी परिराख्यो भने यो बाटोमा कसरी यात्रा सहज गराउने होला ? पानी रोकियो भने दसैँमा यात्रा सहज गराउन सकिन्छ भन्ने चिन्ता लागिरहेको छ ।” ठेकेदारलाई गत साउन ८ गते चौथो पटक म्याद थपिँदासम्म झन्डै ७० प्रतिशतको भौतिक प्रगति भएको ठेकेदार कम्पनीका इन्जिनियर राकेश झाले बताउनुभयो । उहाँका अनुसार यो पछिल्लो दुई महिनामा दुई प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
– बोमलाल गिरी