12/14/2025, 23:33:34
आइतबार, मङि्सर २८, २०८२

एमाले पदाधिकारी संख्या बढाउने निर्णयमा ईश्वर पोखरेलको विरोध


काठमाडौँ, मङ्सिर २८ : एमाले अध्यक्षका उम्मेदवारसमेत रहेका नेता ईश्वर पोखरेलले पार्टी विधानमा भएको संशोधनको विरोध गरेका छन् । अहिलेको परिस्थितिमा पदाधिकारी संख्या बढाउनु समस्या समाधान नभएको उनको भनाइ छ ।

भृकुटीमण्डपमा आइतबार भएको केन्द्रीय कमिटी बैठकमा नेता पोखरेलले भने, ‘पार्टीले लिएको परिस्थितिले अंक बढाऊ भनेको होइन ? बदलिएको परिस्थितिले त हामीलाई बदलिऊ भनेर जबर्जस्त सन्देश दिएको छ, के संख्या बढाएर क्षनता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ?‘ त्यस्तै पार्टीभित्र एउटै पदमा २ कार्यकालभन्दा बढी बस्न नपाउने भन्नेबारे आवाज उठे पनि छलफल नभएको उल्लेख गर्दै पोखरेलले आपत्ति जनाए ।

के हाम्रा विधानहरू अस्थायी हुन् । जे अनुकूल हुन्छ त्यही गर्दै जाने हो ? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने तपाईंहरू नै होइन ? वैधानिक विषयअनुसार चलौँ, महासचिवले प्रस्तुत गरेको कार्यसूचीअनुसार चलौँ । दाँयाबाँया नगरौँ,’  पोखरेलले भने ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बैठकले पदाधिकारी संख्या बढाएर फेरि १९ पुर्‍याउने निर्णय गरेको छ। स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको हो। साथै पदाधिकारीमा १ अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना सचिव रहनेछन् । अब एमालेमा वरिष्ठ उपाध्यक्ष पद हुने छैन । यसअघि ईश्वर पोखरेल उक्त पदमा थिए ।