बुधबार, पुष १०, २०८१

ओली सरकार विरुद्ध शनिवार काठमाडौँमा माओवादीले खबरदारी सभा गर्दै


८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकार विरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शन सहित खबरदारी सभा गर्न लागेको हो । तर अन्य प्रदेशमा तिहारअघि विरोध प्रदर्शन वा खबरदारी गर्ने कार्यक्रम नरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा १० गते जनप्रदर्शनसहित खबरदारी सभा गर्न लागिएको हो । अन्य प्रदेशमा अहिले सरकार विरोधी कुनै कार्यक्रम छैन । तिहारपछि देशभर विरोधका कार्यक्रम सार्वजनिक गर्छौं’, सापकोटाले भने ।

कर्णाली प्रदेशका इन्चार्ज तथा स्थायी समिति सदस्य कालीबहादुर मल्लले केन्द्रमा बाहेक अन्य प्रदेशमा विरोध वा खबरदारीको कार्यक्रम तय नभएका जानकारी दिए । ‘अन्य प्रदेशमा विरोध कार्यक्रम गर्ने विषयमा मैल महासचिवसँग पनि कुरा गरेको थिएँ । उहाँले अहिले केन्द्रमा मात्रै गर्ने अन्य प्रदेशमा पछि कार्यक्रम बनाउने भन्नुभएको छ । प्रदेशस्तरमै हामीले अहिले कुनै विरोध कार्यक्रम वा जनपरिचालनको कार्यक्रम राखेका छैनौँ’, मल्लले भने ।

अर्का स्थायी समिति सदस्य कमला रोक्काले तिहारअघि लुम्बिनी प्रदेशमा कुनै विरोधका कार्यक्रम नराखिएको जानकारी गराइन् । ‘सम्पूर्ण हिसाबले १० गते काठमाडौँमा हुने खबरदारी सभाको तयारीमा छौँ । प्रदेशस्तर वा जिल्लास्तरमा कुनै कार्यक्रम तय भएको छैन । केन्द्रीय समिति बैठकले नै योजनासहित जनपरिचालनसहित विरोधका कार्यक्रम तय गर्ला ।’ रोक्काले भनिन् ।

सुदूरपश्चिमका अध्यक्ष हरिराम चौधरीले पनि प्रदेशस्तरमा सरकार विरुद्ध खबरदारी कार्यक्रम नराखिएको बताए । तिहार नजिकै आएकाले प्रदेशस्तरमा विरोध प्रदर्शनको कार्यक्रम नराखिएको उनले जानकारी दिए । केन्द्रको निर्देशन आउँदा साथ जनपरिचालन सहितका कार्यक्रम बनाउने उनले जिकिर गरे ।

कांग्रेस र एमालेबिच असार १७ गते संविधान संशोधनसहित आलो-पालो सरकार बनाउने ७ बुँदे सहमति भएको थियो । सोही सहमति अनुसार एमालेका अध्यक्ष केपी ओलीले असार ३१ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । तर ओली सरकारको सय दिन पूर्ण असफल भएको विपक्षी दलहरूको निष्कर्ष छ । सरकारको सय दिनको कामको समीक्षा गर्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् । माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading