12/10/2025, 09:08:01
बुधबार, मङि्सर २४, २०८२

सरकारद्वारा राहत कार्यविधि स्वीकृत


काठमाडौँ, मङ्सिर २४ : सरकारले भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगलागीमा परी निधन भएका पत्रकार स्व. सुरेश रजकलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्सिर २२ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले कोलम्बो प्लानको नवौँ महासचिव पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको बताउनुभयो ।

यसै गरी बैठकले नेपाल र मौरिससबिच सम्पन्न दोहोरो करमुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्री खरेलले सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेडको स्थापना गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

जाँचबुझ आयोग गठन गर्ने

सञ्चारमन्त्री खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक हासिल गरी नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने म्याराथन धावक एवं ओलम्पियन जितबहादुर केसीलाई सम्मान स्वरूप नगद २५ लाख रुपियाँ प्रदान गर्ने निर्णय भएको छ ।

साथै सरकारले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

सुर्खेतको मेहेलकुना–खटाङ घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुल आयोजनालाई राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना तोक्ने निर्णय भएको छ । इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), पर्वत, मोरङ र सुनसरीका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ ।

मङ्सिर २९ र पुस १ गते भुटानको थिम्पुमा आयोजना हुने तेस्रो साइन्स, पोलिसी, एन्ड फाइनान्स डायलग फर रिजनल एयर क्वालिटी म्यानेजमेन्ट इन इन्डो–गङ्गेटिक प्लेन एन्ड हिमालयन फोटिल्स् (हिन्द–गङ्गाको मैदान र हिमालयको क्षेत्रमा क्षेत्रीय वायु गुणस्तर व्यवस्थापनका लागि विज्ञान, नीति र वित्त संवाद) कार्यक्रममा कृषि तथा

पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएएको छ ।

साथै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

उहाँले नेपाली सेनाका तीन जना महासेनानीको सरुवा गर्ने, एक जना सहायक रथीको पदावधि थप गर्ने र एक जना सहायक रथीको उपरथीमा विशेष बढुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँका अनुसार नेपाल न्याय सेवा, न्याय समूहका चार जना सहसचिवको सरुवा गर्ने निर्णय भएको छ ।