12/09/2025, 15:46:02
मङ्गलबार, मङि्सर २३, २०८२

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा


काठमाडौँ, मङ्सिर २३ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरूको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।

विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुने छन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..