12/08/2025, 00:43:36
आइतबार, मङि्सर २१, २०८२

स्थानीयको पहलमा बिउँतियो येँगा हिति


काठमाडौँ, मङ्सिर २१ : काठमाडौँको वसन्तपुर दरबार क्षेत्रनजिकै रहेको येँगा हिति (धारा) बिउँतिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २१ यङ्गालस्थित व्यक्तिको कब्जामा गइसकेको एक हजार पाँच सय वर्ष पुरानो येँगा हितिलाई स्थानीयवासीको पहलमा बिउँताइएको हो ।

हितिका तीनमध्ये दुई वटा धारामा हिउँदको समयमा पनि पानी आइरहेको छ । स्रोतको तत्कालीन सुधारपछि वर्षामासमा भने सबै धारामा ठुलो पानी आएको थियो । हिति बिउँतिएसँगै काकाकुल सहरमा ताजा पानीको प्यास मेटिने आशा स्थानीयवासीमा पलाएको छ । अन्यत्र पुनर्निर्माण गरिएका हितिमा पानी नआएका बेला येँगा हितिमा पानी झरिरहेको छ । पचास वर्षको अन्तरालमा हितिबाट निरन्तर पानी झरेपछि शनिबार स्थानीयवासीले उत्सव मनाए ।

तीन वर्षअघि स्थानीय यङ्गाल क्लब र चिवा चैत्य स्मारक संरक्षण संस्थाले येँगा हिति पुनस्र्थापनाको जिम्मा लिएपछि उत्खनन र पुनर्निर्माणको काम अघि बढेको थियो । बागमती प्रदेश सरकारले बजेट दिए पनि समयमा नसकेपछि फ्रिज हुँदा बिचमा अलपत्र परेको थियो । पछि हिति पुनर्निर्माण र संरक्षणका लागि विश्व सम्पदा कोषले प्राविधिक तथा नेपालस्थित अमेरिकी दूतावासको राजदूत सांस्कृतिक संरक्षण कोषले आर्थिक सहयोग गरेपछि हितिले जीवन पाएको हो । पुरातìव विभागको रेखदेख र विशेषज्ञतामा पुनर्जीवित हितिको शनिबार उद्घाटनपछि यसको निकास र पानीको सही वितरणको चुनौतीका विषयमा सरोकारवालाहरूले चासो राख्नुभयो ।

सो क्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले अमूल्य धरोहरका रूपमा हिति रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गे धाराहरूको आफ्नै मौलिक प्रविधि छ तर घना सहरीकरणले यसका पानीका स्रोत मिचिएका छन् ।” उहाँका अनुसार लिच्छविकालीन लामो इतिहास बोकेको यो हितिसँगै रहेका तीन वटा शिलालेखले नेपालको प्राचीन इतिहास बोल्ने गरेको सुनाउनुभयो । लिच्छविकालीन राजाहरू विष्णु गुप्त र भीमार्जुन देवका पालामा सातौँ शताब्दीमा बनेको हिति परिसरमा राजा नरेन्द्र देवको पालाको पनि शिलालेख भेटिएको छ ।

तीमध्ये एउटा पुरातत्व विभागमा संरक्षण गरिएको छ भने दुई वटा हिति स्थलमै छन् । उक्त स्थानको उत्खनन गर्दा धेरै थरीका पुरानो सामग्री भेटिएका छन्, जसको प्रतिवेदन तयार गरेर दस्ताबेजीकरण गरिएको छ । प्राचीन नेपालको जन्मदेखि मरणसम्मका विधिगत कुरा पनि शिलालेखमा लेखिएको पाइएको जानकारी उहाँले दिनुभयो । मौलिक र परम्परागत सामग्रीको प्रयोग गरेर निर्माण गरिएको छ । हितिमा धेरै स्थानबाट आएका पानीका स्रोतको पहिचान भएको छ । जम्मा भएको पानीको निकास कसरी गर्ने र समुदायलाई पानी कसरी वितरण गर्ने भन्ने बारेमा स्थानीयसँग मिलेर टुङ्गो लगाउनुपर्ने आवश्यकता महानिर्देशक प्रधानाङ्गले औँल्याउनुभयो ।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत जेसोज पी. मिकसले येँगा हितिमा पानी झरेको देख्दा गर्व लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “हिति पुनस्र्थापना एउटा जीवन्त जलस्रोत प्रणालीको नवीन रूप हो । अनि नेपाल–अमेरिकाबिचको मजबुत र चिर स्थायी साझेदारीको प्रतिविम्ब पनि हो ।

सन् २००३ यता नेपालका २८ वटा सम्पदाको संरक्षणमा ४६ लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग भइसकेको जानकारी उहाँले दिनुभयो । हितिका लागि मात्र दुई लाख पचास हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बाल्यकालमा आफूले समेत देख्न नपाएको हिति आगामी पुस्ताले देख्न पाउने गरी फेरि जीवन फर्किए जस्तै पानी झर्नु ठुलो सफलता भएको प्रस्ट्याउनुभयो । उहाँले भन्नुभयो, “आसपास पानीको अभाव चर्को छ, येँगा हितिलाई व्यवस्थित गर्न सकिएमा स्थानीयवासीको पानीको अभाव पूर्ति हुने छ ।

यङ्गाल क्लबका अध्यक्ष सिजन वज्राचार्यले आधुनिक विज्ञान र प्राचीन ज्ञान दुवैको सम्मिश्रणमा हिति पुनर्जीवित भएकाले अब निकासका लागि मध्यमार्गी बाटो अपनाउने विषयमा काम गर्न बाँकी रहेको सुनाउनुभयो ।

हिति स्थलमा प्राचीनकालमा बनेका देवी देवताका मूर्ति तथा कला सम्पदाहरूको संरक्षण र सुरक्षा अर्को चुनौती छ । येँगा हितिले जीवन पाएको अवसरमा त्यहाँ विभिन्न २० जना कलाकारले कोर्नुभएको हिति कला प्रदर्शनी गरिएको थियो । हिति पुनर्निर्माणमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो ।

– चाँदनी हमाल