कैलाली , कात्तिक ३० गते। कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूल खेतीबाट राम्रो आम्दानी लिन थालेकी छन् ।
फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन् । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूल खेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु. २० लाखसम्मको कारोबार हुने गरेको बताइन् । आम्दानी राम्रै हुन्छ । कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु. आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँ तिहारमा मात्र करिब रु. १० लाख बराबरको कारोबार भएको उनले बताइन् ।
उनले भनिन् “मूल्य समयअनुसार फरक फरक हुन्छ । फूल प्रतिकिलो रु. एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु. ६० देखि रु एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।” उनले भनिन्, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घर खर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”
धनगढी उपमहानगरपालिकाले दिएको फूल खेतीसम्बन्धी एक हप्ते तालिम लिएर फूल खेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन् । उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु. छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन् । उनले व्यावसायिक फूल खेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन् ।
फूल खेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदानसमेत पाएको बताइन् । फूल खेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूल खेती गर्ने किसानलाई अझै सहज हुने बताइन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













