11/14/2025, 12:06:56
शुक्रबार, कार्तिक २८, २०८२

सहिदभूमि गाउँपालिकामा तीन दिन बिदा


हिले, कात्तिक २८ : सहिदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा र कात्तिक ३० तथा मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वडाङ्मीको अवसरमा बिदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैंक तथा संघ–संस्थालाई जानकारी गराइएको छ ।

२०३६ सालमा कात्तिक २२ देखि २९ गते भएको हत्याकाण्डमा १६ स्थानीयले सहादत प्राप्त गरेका थिए । सरकारले २०७४ सालमा सहिद घोषणा गरेको छ । उहाँहरुको सम्झनामा प्रत्येक वर्ष कात्तिक २२ देखि २९ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

त्यस्तै वडाङ्मी पर्व यो क्षेत्रका राईजातीको मुख्य पर्व हो । कात्तिक शुक्ल पूर्णिमापछिको पहिलो मङ्गलबार सहिदभूमि गाउँपालिका–३ को साकेन्वाथानमा जम्मा भएर पूजा गरेपछि सुरु हुने यो पर्ब एक हप्तासम्म सञ्चालन हुन्छ । यो पर्वको अवसरमा प्रत्येक वर्ष बिदा दिने गरीएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

– कबिराज घिमिरे