11/07/2025, 22:50:09
शुक्रबार, कार्तिक २२, २०८२

संकटको बेलामा कांग्रेस एकजुट हुनुपर्छ : कांग्रेसका प्रवक्ता महत


काठमाडौँ, कात्तिक २१ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन नेतृत्वलाई आग्रह गर्नुभएको छ।नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘देश संकटमा छ, हाम्रो पार्टी संकटमा छ, लोकतन्त्र संकटमा छ, हामी व्यक्तिगत रूपमा पनि संकटमा छौँ।

डा. महतले महासमितिको बैठकमा हाम्रो सम्पूर्ण बहस ८४ को निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा केन्द्रित भएको र अहिले केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन वा महाधिवेशन भन्नेमै सीमित भएको बताउनुभयो।राष्ट्रिय मुद्दामा छलफल नै नहुनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ।

उहाँले संकटको कारण, समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमामा जोड दिनुभयो।

भदौ २४ गतेको आन्दोलनलाई ‘उपलब्धि’ मान्न नसकिने उहाँको तर्क छ। ‘नवपुस्ताले गत भदौ २३ गते सुशासन सुनिश्चत गर्ने माग राखेर गरेको आन्दोलन प्रति हामी सहमत छौं तर २४ गते भएको घटनाहरुलाई उपलब्धि मान्न सकिदैन ।

उहाँले पहिले महाधिवेशन नगरी राष्ट्रिय निर्वाचनको तयारीमा जुट्नुपर्नेमा जोड दिनुभएको छ।  ‘अधिवेशन अहिले कि पछि भन्ने बहसभन्दा पहिले देशलाई चुनौतिबाट निकाल्ने नेतृत्व दिनुपर्छ’, महतले भन्नुभयो, ‘फागुनमा चुनाव भयो भने कांग्रेस एकढिक्का भएर जानुपर्छ, भएन भने महाधिवेशनको वैकल्पिक समय–सीमा तय गरौँ ।

पार्टी एकता नै संकट समाधानको उपाय भएको उहाँले प्रष्ट पार्नुभयो।  ‘संकटमा पार्टी फुटाउने होइन, जोड्ने हो। विवाद सहज समयमा गर्न सकिन्छ, संकटमा होइन। कांग्रेस एक भयो भने देशलाई पनि जोगाउन सक्छ, लोकतन्त्रलाई पनि बलियो बनाउन सक्छ’, उहाँले भन्नुभयो।