लमजुङ, १९ कात्तिक : चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको ङिस्याङ गाउँपालिका–६ लेदरमा लेक लागेर एक भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय पिन्टु मुखर्जी रहेका छन् ।
मंगलबार बिहान लेदरबाट थोरोङला पासतर्फ जाँदै गर्दा अचानक ढलेर मुखर्जीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । शव प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ र स्थानीय पर्यटन व्यवसायीको सहयोगमा बुधबार चामे पुर्याएको थियो ।
कानुनी प्रक्रिया पूरा गरेपछि शव ग ३ च ७४९६ नम्बरको एम्बुलेन्समार्फत प्रहरी हवल्दार बिमलराज बस्ताकोटीको जिम्मामा काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ) पठाइएको प्रशासनले जनाएको छ ।
समुद्री सतहदेखि करिब ४ हजार २ सय मिटर उचाइमा रहेको उक्त स्थानमा वायुपात, शीतल हावा र अक्सिजनको कमीका कारण पर्यटकलाई स्वास्थ्य समस्या देखिने गरेको छ ।
‘लेकका कारण ज्यान जाने जोखिम बढ्दो छ, पदयात्रामा जाँदा सतर्कता अपनाउन आवश्यक छ,’ एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । ‘सुरक्षित पदयात्रा गरौं, तयारीसहित मात्र उच्च भेगतर्फ जाऔं,’ उनको आग्रह छ ।















