10/29/2025, 16:47:20
बुधबार, कार्तिक १३, २०८२

मौसम फेरबदलको सूचनाले फर्किन थाले पर्यटक


मुक्तिनाथ (मुस्ताङ), कात्तिक १२ : जल तथा मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात सम्बन्धी पूर्व सूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घट्न थालेको छ ।

स्वदेशी पर्यटकले खचाखच भरिएका मुस्ताङमा प्रतिकुल मौसमको सूचनासँगै पोखरा–बेनी हुँदै मुस्ताङमा प्रवेश गर्नेभन्दा फर्किने सङ्ख्या बढेको हो । जिल्ला प्रहरी कार्यालयको घाँसा चेकपोस्टको तथ्याङ्कमा कात्तिक १२ गते मङ्गलबार सडक सञ्जालबाट ४ हजार २ सय ३१ जना र मनाङ जिल्ला हुँदै थोरङला पास गरीबाट १ सय ४९ जना गरी ४३ सय ८० जना मुस्ताङ प्रवेश गरेका छन् ।

सो सडकमार्ग हुँदै ४ हजार ९ सय ८५ जना पर्यटक बाहिरिएका छन् । कुल सवारी साधन ६ सय ९७ प्रवेश गरेकोमा घाँसाबाट ७ सय ४७ बाहिरिएकोमा उपल्लो मुस्ताङमा ११ सवारी साधन प्रवेश गरी १ सय ५५ बाहिरिएका छन् ।

अत्याधिक हिमपात भएका कारण लोमान्थाङ गाउँपालिका–१, नेचुङ भन्सार तथा कोरला नाकाबाट चिनियाँ भन्सार कार्यालयमा रहेको व्यापारिक केन्द्रमा व्यापारका लागि समेत मुस्ताङीलाई जान समस्या भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

प्रनाउ लामाले भन्नुभयो, ‘‘उपल्लो मुस्ताङ घुम्न गएका पर्यटकहरू मौसमको सूचनाका कारण फर्किने धेरै हुनुहुन्छ, पूर्व सूचनाको आधारमा गन्तव्यबाट फर्किने पर्यटकले गर्दा अलपत्रमा परेको खबर आउन पाएन ।’’ जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना जारी गरेपछि कात्तिक १० गते मुस्ताङमा ८ हजार ७४९ जना सडक, पदमार्ग तथा हवाइमार्गबाट प्रवेश गरेकोमा ९ हजार ८ सय ७५ जना बाहिरिएका थिए ।

कात्तिक ९ गतेसम्म दैनिक ११ हजारभन्दा बढी पर्यटक भित्रिएको मुस्ताङमा हिमपात र वर्षाको सूचनापछि पर्यटकको आगमन घटेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, ‘‘मौसमको सूचना हेरेर आउने पर्यटक धेरै हुनुहुन्छ, पूर्वसूचना पालना गर्दा सङ्कट टर्छ ।’’ जिल्ला प्रशासन कार्यालय मुस्ताङले मङ्गलबारदेखि उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई अपिल गरेको थियो ।

आउने शुक्रबारसम्म सचेत रहन अनुरोध गरेपछि मुस्ताङ पुगेका पर्यटक समेत होटलमै सुरक्षित बसेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । प्रजिअ भुषाल भन्नुहुन्छ, ‘‘मौसमको सूचनालाई पालना गर्दा पर्यटकले सास्ती खेप्नुपरेको छैन, मौसम अनुकुल भएपछि हामीले नै सूचनामार्फत पर्यटकलाई स्वागत गछौं ।’’

प्रजिअ भुषालका अनुसार पदयात्रा तथा मुक्तिनाथ मन्दिरमा आउनुभएका पर्यटकलाई सुरक्षित साथ फर्काउन सडक तथा आवश्यक समन्वय भइरहेको छ । उच्च हिमाली क्षेत्रमा पर्ने मुस्ताङ–डोल्पाको ५ हजार ८ सय मिटरको उचाइमा रहेको याकखर्क क्षेत्र, ५ हजार ४ मिटरको मुस्ताङ–मनाङ थोरङ्लापास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकङलगायतका क्षेत्रमा नयाँ पर्यटक प्रवेश नगरेको अवस्थामा पदयात्रामै रहेका सुरक्षित रहेको प्रजिअ भुषालले जानकारी दिनुभयो ।

मुस्ताङमा भित्रिने अधिकांश स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्नेगरेको अवस्थामा हिमपात भएपछि जोमसोम, कागबेनी, रानीपौवा क्षेत्रमा रहेका तिर्थालुले दर्शन गरेको र नाकाबाट निकै कम आएको बताइएको छ ।

यूकेबाट घर विदानमा आउनुभएका नेत्रमान गर्बुजाले हिमपात र वर्षाको सूचनापछि मुक्तिनाथ मन्दिरको हतार–हतार दर्शन गरी अन्य पर्यटकीयस्थलमा जाने पूर्वयोजनालाई स्थगित गरी फर्किएको बताउनुभयो । मुस्ताङको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा जाने गरेका छन् ।

प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तव्य मुस्ताङका प्रमुख आकर्षण हुन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारी साधनमा जाने पर्यटक बढेका छन् । छठ लगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै घट्छ । लेतेदेखि माथि लोमान्थाङसम्म करिब ३ सय सानाठुला होटल सञ्चालनमा छन् ।

– हरिकृष्ण शर्मा