10/22/2025, 18:57:58
बुधबार, कार्तिक ०६, २०८२

‘चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुने छ’ : राष्ट्रपति ट्रम्प


वासिङ्टन, कात्तिक ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने इच्छा व्यक्त गरे पनि अमेरिकामा आयात हुने चिनियाँ सामानमा आगामी नोभेम्बर १ देखि १५५ प्रतिशत कर (ट्यारिफ) लागू गर्ने आफ्नो निर्णयमा अडिग रहने स्पष्ट गर्नु भएको छ ।

चीन अझै पनि रुसको सबैभन्दा ठूलो तेल आयातकर्ता रहेको छ, त्यसैले हामीले त्यसबारे विचार गर्नै पर्छ । हाल नोभेम्बर १ देखि चीनले यसमा करिब १५५ प्रतिशत कर तिर्नु पर्ने छ । मलाई लाग्दैन कि यो उनीहरूका लागि दिगो रहने छ”, मङ्गलबार पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “म चीनसँग राम्रो हुन चाहन्छु, तर चीन वर्षौंदेखि हामीसँग अत्यन्त कठोर व्यवहार गर्दै आएको छ । हाम्रा अघिल्ला राष्ट्रपतिले व्यापारमा पर्याप्त समझदारी देखाउन सकेनन्, जसका कारण चीन र अन्य देशले अमेरिकाको फाइदा उठाए ।

ट्रम्पले आफूले युरोपेली सङ्घ (इयु), जापान र दक्षिण कोरियासँग शुल्क–आधारित व्यापार सम्झौता गरेको स्मरण गर्दै ती सम्झौता ‘राष्ट्रिय सुरक्षासँग सम्बन्धित’ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले युरोपेली सङ्घसँग सम्झौता गरेँ, जापान र दक्षिण कोरियासँग पनि गरेँ । यी सबै ठूला सम्झौता हुन् । यो राष्ट्रिय सुरक्षाको कुरा हो । भन्सार शुल्कका कारण म ती गर्न सक्षम भएँ । अहिले हामी सयौँ अरब डलर सङ्कलन गरिरहेका छौँ र देशको ऋण तिर्न थाल्ने छौँ ।

ट्रम्पको यो निर्णयले ऊर्जा व्यापारमार्फत युक्रेनमा भइरहेको युद्धलाई अप्रत्यक्षरूपमा सहयोग गर्ने देशविरुद्ध वासिङ्टनले अपनाइरहेको कडा ‘द्वितीयक ट्यारिफ’ रणनीतिलाई झल्काउँछ । अघिल्लो नीतिले भारतलाई पनि लक्षित गरेका थिए । भारतमाथि रूसी तेल आयात गरेको भन्दै ५० प्रतिशत कर लगाइएको थियो । यस पटक भने यो नीति चीनतर्फ केन्द्रित देखिएको छ । चीन हाल रुसको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न सफल भएको छ ।

यसअघि पनि राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा एक पोस्टमार्फत चिनियाँ सामानमा ‘उनीहरूले अहिले तिरिरहेका कुनै पनि करबाहेक थप १०० प्रतिशत कर’ नोभेम्बर १ देखि लागू गर्ने घोषणा गर्नु भएको थियो । उहाँका अनुसार यो निर्णय चीनले संयुक्त राज्य अमेरिकासँग ‘व्यापारमा असाधारण आक्रामक र शत्रुतापूर्ण’ व्यवहार गरेको प्रतिक्रियामा आएको हो ।

उहाँले आफ्नो पोस्टमा लेख्नुभएको थियो, “चीनले विश्वलाई अत्यन्त शत्रुतापूर्ण पत्र पठाएको छ र व्यापारमा असाधारण आक्रामकस्थिति लिएको छ । त्यसैले सन् २०२५ नोभेम्बर १ देखि (वा चीनले गर्ने कुनै परिवर्तनको आधारमा चाँडो पनि) संयुक्त राज्य अमेरिकाले चीनमा हाल तिरिरहेका करभन्दा माथि १०० प्रतिशत कर थप गर्ने छ । सोही मितिदेखि सबै महत्वपूर्ण सफ्टवेयरमा पनि निर्यात नियन्त्रण लागू गरिने छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..