मङ्गलबार, पुष ०९, २०८१

नेपाली बजारमा आजदेखि आइफोन १६का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाउने


२३ असोज, काठमाडौं। नेपाली उपभोक्ताले आजदेखि ‘एआई’ युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो । ९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा आइफोन १६ सिरिज सार्वजनिक भएको थियो।

नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले नेपाली उपभोक्ताले आजैदेखि नेपाली बजारमा आइफोन १६का सिरिजहरू सहज रुपमा देशरभर किन्न पाउने बताइन् । उनले भनिन्, ‘ हामीले आजदेखि नै नेपालमा आइफोन १६ का सिरिजहरू नेपाली उपभोक्ताले देशभरका स्टोरहरूबाट किन्न पाउनेगरी उपलब्ध गराइसकेका छौं।

उनका अनुसार काठमाडौंमा न्‍युरोडमा जोय स्टोर, इभोस्टो र बबरमहलमा रहेको ओलिभ स्टोरबाट आइफोन १६ का सिरिजहरू किन्न सकिनेछ भने उपत्यका बाहिर पोखराको एमएस ट्रेड, विराटनगरमा अरूण इलेक्ट्रोनिक्स र लक्ष्मी एपस्टोरबाट पनि आइफोन १६का सिरिजहरू किन्न सकिनेछन् । यस्तै बुटबलको गौरा र एभरेष्ट जेनेरेशन, बिर्तामोडमा रहेको क्वालिटी कम्प्युटर र श्रेष्ठ मोबाइल तथा बारामा रहेको एमएमएस जीतपुरस्टोरबाट पनि आइफोनका १६ सिरिजहरू किन्न सकिने जेनेरेशन नेक्स्टले जनाएको छ ।

आइफोन १६का सिरिजहरू इएमआई गरेर उपभोक्ताले नबिल बैंक र ग्लोबल आईएमई बैंकबाट किस्ताबन्दीमा लिन सक्‍ने भिमसरियाको भनाइ छ । एप्पलका म्याकबुक र आइप्याड किन्न हुलास फाइन्सबाट ईएमआई मार्फत उपलब्ध रहेकोउनले बताइन् ।

यो सिरिज अन्तर्गत कुल चार मोडेल (आईफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स) रहनेछन्, जसको मूल्‍य मोडेल र क्षमता अनुसार फरक–फरक हुने उनले बताइन् । साथै नेपालमा आइफोन १६ सिरिजसहित एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा २, इयरपड्स ४, इयरपड्स म्याक्स समेत ल्याइसकिएको छ ।

सन् २००७ मा सानफ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्सपोमा एप्पलका मालिक स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए । पहिलो आइफोनको मूल्य ३ सय ९९ अमेरिकी डलर (हालको नेपाली रुपैयाँ साढे ५३ हजार) थियो । त्यतिबेला त्यसलाई हाँसोमा उडाइएको थियो । तर, अहिले एप्पल कम्पनी विश्वको सबैभन्दा धनी कम्पनीको सूचीमा पर्दछ । र, एप्पलले उत्पादन गर्ने आइफोन लगायत विद्युतीय सामानको लोकप्रियता बढ्दो छ ।

आइफोन १६ मा खास के छ ?

आइफोन १६ का विभिन्न विशेषता छन् । तीमध्ये एक हो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) । एप्पल कम्पनी प्रमुख टिम कुकले सार्वजनिक समारोहमा एप्पल इन्टिलिजेन्स र यसको उत्कृष्ट क्षमतासाथ नयाँ डिजाइनमा आइफोनलाई ल्याएको बताएका थिए। गत जुनमा सार्वजनिक गरिएको एप्पल इन्टिलिजेन्सभन्दा शक्तिशाली र नयाँ पर्सनलन इन्टिलिजेन्स सिस्टम धेरै तरिकाले अलग छ । एप्पलका अनुसार अहिलेको नयाँ एआई सिस्टमबाट टेक्स्ट, पिक्चर र भिडियोमा सपोर्ट मिल्ने छ । यसबाट उत्पादन बढ्ने र सिरी पहिलेभन्दा अझै प्रभावकारी सावित हुने दाबी गरिएको छ । यद्यपि, एप्पल इन्टिलिजेन्स फिचर केही महिनापछि मात्र सुरु हुनेछ । पहिले यसलाई केही देशमा मात्र बिटा भर्सनमा मात्र सुरु गरिने छ ।

आइफोन १६ सिरिजमा क्यामरा एक्सन कन्ट्रोलका लागि साइड प्यानलमा एक बटन राखिएको छ । यसको प्रयोगबाट मोबाइल प्रयोगकर्ताले क्यामरा एप खोल्ने, फोटो खिच्ने, भिडियो बनाउने, जुम गर्ने गर्न सक्छन् । यस्तै एक्सपोजर, डेप्थ, फिल्ड कन्ट्रोल जस्ता काम पनि त्यही बटनबाट हुनेछ ।यसबाट फोटो खिच्न र भिडियो बनाउन अझै सहज हुने कम्पनीको दाबी छ । केही महिनापछि एप्पल इन्टिलिजेन्स सुरु हुनासाथ क्यामरा कन्ट्रोल मार्फत् भिजुअल इन्टिलिजेन्स पनि प्रयोगकर्ताले पाउने छन् ।

एक्सन बटन

आइफोन १६ सिरिजमा एक्सन बटन पनि राखिएको छ । प्रयोगकर्ताले यो बटनमा एकपटक थिचेर विभिन्न फङसनमा सजिलैसँग जान सक्छन् । उदाहरणका लागि फ्ल्यास लाइट, क्यामरा वा कन्ट्रोल यसैबाट खोल्न सकिन्छ । रिङ वा साइलेन्ट मोडमा पनि जान सकिन्छ । यसका अलावा अन्य नयाँ अप्सन पनि यसमा मिल्ने छ ।

ए १८ चिप

आइफोन १६ सिरिजमा एप्पल इन्टिलिजेन्सका लागि विशेषगरी ए १८ चिप प्रयोग गरिएको छ । यसबाट पावर क्षमतासँगै ब्याट्रीको लाइफ पनि बढ्ने कम्पनीको दाबी छ । यो विगतका आइफोन सिरिजभन्दा दुई जेनेरेसन अगाडिको चिप हो । आइफोन १५ मा ए१६ बायोनिक चिप प्रयोग गरिएको थियो ।

क्यामरा

आइफोन १६ मा ४८ मेगापिक्सेलको डुअल क्यामरा सिस्टम छ । साथै, टेलिफोटो लेन्स २ गुणा जुम क्षमताको छ । आइफोन १६ प्रोमा भने यो ५ गुणा जुम क्षमताको छ ।

ब्याट्री

आइफोन १६ एकपटक फुल चार्ज गरियो भने लगातार २७ घण्टासम्म भिडियो हेर्न सकिने ब्याट्री क्षमता रहेको दाबी कम्पनीले गरेको छ । आइफोन १६ प्रोमा भने यस्तो क्षमता ३३ घण्टाको छ ।

कलर, डिस्प्ले र क्यापासिटी

आइफोन(१६ र आइफोन १६ प्लस कालो, सेतो, गुलाबी, हल्का हरियो र निलो गरी पाँच रङमा उपलब्ध छ । आइफोन १६ प्रो र प्रोम्याक्स भने कालो, सेतो, क्रिम र हल्का सुनौलो गरी चार रङमा उपलब्ध छन् । आइफोन १६ को साइज ६.१ इन्चको छ । आइफोन १६ प्लस ६.७ इन्च र आइफोन १६ प्लसको साइज ६.७ इन्चको छ । यसैगरी आइफोन १६ प्रोको साइज ६.३ इन्च र आइफोन १६ प्रो म्याक्सको साइज ६.९ इन्च छ ।

आइफोन १६ र आइफोन १६ प्लस १२८ जीबी, २५६ जीबी र ५१२ जीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् । आइफोन १६ प्रोका १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी चार भेरिएन्टमा उपलब्ध छन् । आइफोन प्रोम्याक्स भने २५६ जीबी, ५१२ जीबी र १ टीबी गरी तीन भेरिएन्टमा उपलब्ध छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading