10/05/2025, 16:22:21
आइतबार, असोज १९, २०८२

ट्रम्पको बजेट ‘गम्भीर सङ्कट’ सटडाउन बीच ठूलो कटौतीको तयारी


वासिङ्टन, असोज १९ : उहाँ अहिले अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ । अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) का प्रमुख तथा दक्षिणपन्थी विचारक रसेल भोटले अमेरिकी सरकारको सटडाउनलाई आफ्नो कठोर आर्थिक नीति कार्यान्वयनको उपकरणका रूपमा प्रयोग गरिरहनुभएको छ ।

सरकार बन्द हुँदा सामान्यतया लाखौँ सङ्घीय कर्मचारीहरू अस्थायी रूपमा बेतलबी बिदामा पठाइन्छन् । तर यस पटक ह्वाइट हाउसले स्थिति ‘सामूहिक राजनीतिक विस्फोटको नजिक’ रहेको बताएको छ । ट्रम्पले भोटलाई निर्देशन दिनुभएको छ— “कुन–कुन डेमोक्रेटिक एजेन्सीहरूमा कटौती गर्न सिफारिस गर्ने भनेर सोच्नुहोस् ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एआईले तयार गरेको एउटा भिडियो पनि पोस्ट गर्नुभयो, जसमा बजेट प्रमुख भोटलाई वासिङ्टनका गल्लीमा हिँडिरहेको ‘डरलाग्दो काँटा’ — अर्थात् काट्ने व्यक्ति — को रूपमा चित्रण गरिएको छ ।

भोट अहिले प्रोजेक्ट २०२५ नामक योजनाको पालना गर्दै हुनुहुन्छ — जसका लेखकहरू मध्ये उहाँ स्वयं पनि एक हुनुहुन्छ । ट्रम्पले आफ्नो पुनः निर्वाचन अभियानका बेला तीव्र रूपमा घटाइएको सङ्घीय सरकारमाथि व्यापक रूपमा विस्तारित कार्यकारी नियन्त्रणको परिकल्पना गर्ने अति–रूढीवादी योजनाबाट दूरी बनाइराख्न खोज्नुभएको थियो । तर अहिले उहाँले ४९ वर्षीय भोटलाई ‘प्रोजेक्ट २०२५ फेम’ भनेर गौरवपूर्वक उल्लेख गर्नुभएको छ ।

सङ्घीय बजेटका लागि जिम्मेवार समितिकी वरिष्ठ डेमोक्रेट सांसद रोजा डेलोरोले भोटमाथि ‘सटडाउन इन्जिनियर’ को आरोप लगाउँदै भन्नुभयो, “उहाँले लामो समयदेखि मजदुर वर्ग, मध्यम वर्ग र उनीहरूमाथि निर्भर कमजोर अमेरिकीहरूलाई बेवास्ता गर्दै आवश्यक सरकारी सेवाहरू ध्वस्त पार्ने नियतले यो षड्यन्त्रको योजना बनाइरहनुभएको छ ।

अमेरिकी सरकारको वार्षिक बजेट विधेयक पारित गर्न असफल हुँदा यस्ता बन्द हुने गरेका छन् ।

नोकरशाहीलाई ध्वस्त पार्ने लक्ष्य –

कनेक्टिकटमा जन्मेका भोटले एउटा सानो इभान्जेलिकल क्रिश्चियन कलेजबाट स्नातक गरी कानुनमा डिग्री हासिल गर्नुभयो । त्यसपछि उहाँ रिपब्लिकन सांसदहरूको कर्मचारी र हेरिटेज फाउन्डेसन का लागि लोबिस्ट बन्नुभयो ।

ट्रम्पको पहिलो कार्यकालमा भोट ओएमबीका निर्देशक बन्नुभयो र अहिले दोस्रो कार्यकालमा पुनः नियुक्त हुनुभएको छ । बाइडेनको कार्यकालमा उहाँले आफ्नै थिङ्क ट्याङ्क सेन्टर फर रिन्युइङ अमेरिका मार्फत ‘नयाँ रूढीवादी अधिग्रहण’ को तयारी गर्नुभएको थियो, जसको उद्देश्य उहाँका शब्दमा ‘फुटेको सरकारलाई पुनः दक्ष बनाउने’ थियो ।

ट्रम्प पुनः निर्वाचित भएपछि भोटले टकर कार्लसनसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “हामीले त्यो विशाल नोकरशाहीलाई ध्वस्त पार्न कट्टरपन्थी संवैधानिक दृष्टिकोणका साथ छिटो र आक्रामक रूपमा अघि बढ्नुपर्छ ।

गत सेप्टेम्बरमा उहाँले अमेरिकी सरकारलाई ‘जागृत र हतियारबद्ध प्रशासनिक राज्य’ भन्दै आलोचना गर्नुभएको थियो, जसले निर्वाचित राष्ट्रपतिका आदेशहरूको अवज्ञा गर्छ भन्ने आरोप लगाउनुभयो ।

राजनीतिक ट्रमा र शक्ति प्रदर्शन –

भोटलाई सन् २०२५ फेब्रुअरीमा पुनः ओएमबी निर्देशकका रूपमा सिनेटले तत्काल पुष्टि गर्‍यो । तर सरकारभित्रको लागत कटौतीमा पहिलो पहल भने टेक टाइकुन एलन मस्कले गर्नुभएको थियो । मस्कले प्रशासनको प्रारम्भिक महिनाहरूमा ‘काट्ने चेनसो नीति’ अघि सार्नुभएको थियो । यो कदमले भोटलाई असन्तुष्ट तुल्याएको बताइन्छ, यद्यपि उहाँ पनि सरकारी निकायहरूको ‘आकस्मिक पुनर्संरचना’ को पक्षमा हुनुहुन्थ्यो ।

हो, मैले नोकरशाहीभित्र आघात ल्याउने आह्वान गरेको हुँ”, उहाँले नोभेम्बरमा भन्नुभयो, “यी ब्युरोक्रेसीहरूले अमेरिकी जनतालाई बेवास्ता गर्छन् ।

भोटका अनुसार सबै कार्यकारी शक्ति कार्यकारी शाखामै निहित हुनुपर्छ । उहाँले विदेशी सहायता घटाउने, सार्वजनिक प्रसारणका लागि सङ्घीय कोष अन्त्य गर्ने र दर्जनौँ नियमहरू फिर्ता लिने योजना अगाडि सार्नुभएको छ ।

भोटले हालै भन्नुभएको छ, “यस काममा संलग्न हुनु रोमाञ्चक छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..