जनकपुरधाम, असोज १९ : मधेश प्रदेशमा शुक्रबार साँझदेखि निरन्तर पानी पर्न थालेपछि कमला, कोशी, बलान, बागमती, लालबकैया, जलाद्धसहितका नदीमा पानीको सतह बढ्दै गएको छ । आमनागरिकको जनजीवनसमेत प्रभावित भएको हो ।
वर्षा आगामी तीन दिनसम्म जारी रहने पूर्वानुमान गरिएकाले जोखिमबाट बच्नका लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले सूचना जारी गरी उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । स्थानीय प्रशासनले अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र आफू बसोबास गरेको क्षेत्रमा सुरक्षित रहन सबैमा अपिल गर्दै आएको छ ।
विपत् व्यवस्थापनका लागि सबै स्थानीय तह, स्थानीय विपत् व्यवस्थापन समिति, सरकारी निकाय, निजी क्षेत्र र गैरसरकारी सङ्घ संस्थाले स्वीकृत मनसुन कार्ययोजना अनुसार पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ । शनिबार बिहानदेखि लगातार वर्षा भएपछि जनकपुरधामबाट काठमाडाँैका लागि उड्ने सम्पूर्ण विमान रद्द गरिएको छ । धनुषाको कमला नदीमा पानीको बहाब बढे पनि कुनै प्रकारको अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
निरन्तर वर्षाका कारण सर्लाहीबाट काठमाडौँ जाने सवारीसाधन ठप्प भएको छ । शनिबार बिहान काठमाडौँ हिँडेका कतिपय मानिस बाटोबाटै फर्किएका छन् भने हिँड्न तयार भएर बसेका कतिपयको यात्रा अनिश्चित बनेको छ । दसैँ मनाएर शनिबार बिहान काठमाडौँ फर्कने गाडी बुक गरे पनि भारी वर्षाका कारण जानै नसकेको लालबन्दी नगरपालिका–९, बस्तीपुरका निराजन पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण सर्लाहीसहित तराई क्षेत्रबाट काठमाडौँ जाने गाडी ठप्प भएका छन् भने लामो दुरीमा चल्ने अन्य गाडी पनि पातलो मात्रामा चलिरहेको छन् ।
सार्वजनिक सवारीसाधनमा यात्रु कम देखिन्छन् । लगातारको वर्षाले सर्लाहीको चुरेवर्ती क्षेत्रमा पनि यातायातका साधन ठप्प छन् । ईश्वरपुर नगरपालिका–१२ का वडाध्यक्ष देवीबहादुर खत्री (शिव) ले प्रत्येक खोलामा ठुलो बाढी आएकाले चुरे भेगमा पैदल हिँडेरै जाने अवस्थासमेत नरहेको बताउनुभयो । भारी बर्सातले गर्दा सर्लाहीमा बिजुली अनियमित बनेको छ । अधिकांश स्थानमा मोबाइलको नेटवर्कसमेत अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमै समस्या पैदा भएको स्थानीयले गुनासो गरेका छन् ।
बागमती र लालबकैयामा पानीको सतह बढ्दै
वर्षाका कारण बागमती र लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि रौतहटका नदी किनारका बस्तीमा बाढीको जोखिम बढेको छ । रौतहटको वृन्दावन, कटहरिया, राजपुर, गुजरा, ईशनाथ देवाही गोनाही, गरुडा, राजदेवी, गौर नगरपालिका र दुर्गा भगवती गाउँपालिका बाढीको उच्च जोखिम क्षेत्रका रूपमा रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल रौतहटले जोखिमयुक्त क्षेत्रमा माइकिङ गर्दै नदी किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र समुदायबिच समन्वय गरी उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो । वृन्दावन नगरपालिका–१ मा नदी किनारमा रहेका १२७ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।
त्यस्तै राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमले बाढीका कारण हुने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । लालबकैया नदीमा लगातार पानीको बहाब बढिरहेको कारण बाढीको जोखिम उत्पन्न भएकाले सजग भएर बस्न उहाँले आग्रह गर्नुभएको छ । नगरप्रमुख डा. आलमले विपत् व्यवस्थापन समिति तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ । साथै नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, बालबालिकालाई घरबाहिर जान नदिन, स्थानीय प्रशासन वा प्रहरीको निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले विपत् आइपरेको अवस्थामा आवश्यक पर्ने उद्धारका सामग्री सम्बद्ध सबै निकायले तयारी अवस्थामा राख्न, सुरक्षा निकाय र आमसञ्चारका माध्यममार्फत आमनागरिकलाई सतर्कता अपनाउन जानकारी गराउने तथा स्थानीय विपत् व्यवस्थापन समितिलाई सव्रिmय बनाउँदै जिल्ला विपत् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टर कोलिडले स्वीकृत प्रतिकार्य योजना अनुरूप तयारी अवस्थामा रहन अनुरोध गर्नुभएको छ ।
उहाँले पूर्वपश्चिम राजमार्गको बागमतीदेखि धन्सार खोलासम्म रातको समयमा सवारीसाधन चलाउँदा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गर्नुभएको छ ।
कल्याणपुर समाचारदाताका अनुसार वर्षाले सप्तरीका अधिकांश किसानलाई हर्षित बनाएको छ भने केहीलाई दुःखी पनि बनाएको छ । सिँचाइ सुविधा नभएका खडेरीबाट पीडित किसान अहिलेको वर्षाले हर्षित भएका छन् भने सिँचाइ सुविधा उपलब्ध रहेका र असारको अन्तिमतिर धानबाली लगाएका किसान भने केही दुःखी देखिएका हुन् ।
असारतिर रोपिएको धानबाली पाकेर घर भिœयाउने बेलामा वर्षा हुँदा नोक्सान उठाउनुपर्ने अवस्था आएको शम्भुनाथ नगरपालिका–७ का किसान जगदीश साहले बताउनुभयो । उहाँले सिँचाइ सुविधा नभएका र साउनको अन्तिमदेखि भदौको पहिलो सातासम्म धानबाली लगाएका किसानलाई अहिलेको वर्षाबाट निकै फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रुपनी–४ का किसान रामरतन यादवले खेतमा धाँजा फाट्नै लागेका बेला भएको वर्षाले राम्रो उब्जनी हुने विश्वास व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत यो वर्षाबाट धानबाली उब्जनीमा वृद्धि हुने अपेक्षा व्यक्त गर्नुहुन्छ ।