फिदिम, असोज १४ : पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२ को सीमावर्ती क्षेत्रमा रहेको तिम्बुङ पोखरी समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ ।
पहाडैपहाडको टाकुरामा छिनमा ड्याम्म कुहिरोेले ढाक्ने त छिनमै हावा चलेर कुहिरो उडाइ लैजाने विशेषताका कारण यो पोखरी क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत वर्षदेखि यस क्षेत्रमा भ्रमण गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको त्यहाँका पर्यटन व्यवसायी अमिर राई बताउनुहुुन्छ ।
पोखरीका आसपासमा शिव पोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हांस पोखरी, मयूर पोखरी, नीर पोखरी गरी अठार वटा पोखरी छन् भने कुम्भकर्ण हिमालको वरिपरि १७८ कुण्ड माला उनिए जस्तै देखिन्छन् । प्राकृतिक सुन्दरता रमणीयता, पशुपन्छी रङ्गीचङ्गी फूल, अनेकौँ जडीबुटी आदीले यहाँको वातावरण झनै मनमोहक छ । साउन लागेसँगै सुन्दरता र प्राकृतिक साजसज्जाले भरिपूर्ण तिम्बुङ पोखरी जान उत्तम हुने याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङ बताउनुहुन्छ ।
ऐतिहासिक, धार्मिक, जैविक विविधताले सम्पन्न तिम्बु पोखरी पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग र निर्माणाधीन मध्यपहाडी लोकमार्ग प्रयोग गरेर च्याङथाप हुँदै जान सकिन्छ । योबाहेक झापाबाट इलामको फिक्कल पशुपतिनगर, सन्दकपुर र फालौट भएर पनि यहाँ पुग्न सकिन्छ ।
मोटरबाटो सुविधा भएका स्थानबाट कम्तीमा दुई दिन पैदल यात्रापछि यहाँ पुगिन्छ । हरेक वर्ष जेठदेखि असोजसम्म, स्वदेशी तथा विदेशी पर्यटक भ्रमणका लागि आउने गर्छन् । यहाँ पुग्न साउन र भदौमा उत्तम समय मानिन्छ । पोखरीका आसपासमा पर्यटकका लागि सुविधायुक्त होटेल नबनिसकेको भए पनि केही घरबास सुविधा र ठुल ठुला चौँरी गोठ छन् । यहाँ जाने पर्यटकले फालौट वा च्याङथापु जहाँबाट गए पनि याकलाई भारी बोकाएर लैजान सक्छन् ।
पोखरीमा असोजदेखि वैशाखसम्म हिउँ पर्ने गरेकाले पुग्न कठिनाइ हुन्छ । गत वर्ष यो सिजनमा ताप्लेजुङको बाटो भएर एक हजारभन्दा धेरै आन्तरिक पर्यटक यहाँ पुगेका थिए । यो वर्ष जेनजी आन्दोलन र प्रतिकूल मौसमका भए पनि गत वर्षकै जति आन्तरिक पर्यटक यहाँ पुगेको राईको भनाइ छ । साउनमा पर्ने नाग पञ्चमीदेखि भदौको जनै पूर्णिमा हुँदै श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा त यहाँ जाने भक्तजनको विशेष भिड लाग्छ ।
यो बेला केन्जोसहितका जडीबुटी ढकमक्क फुल्ने भएकाले तिम्बुङ पोखरी जान उपयुक्त हुने स्थानीय सामाजिक अभियान्ता कृष्ण प्याकुरेल बताउनुहुन्छ । तिम्बुङ पोखरीबाट निस्केको पानीबाट इवा खोलाको उत्पति भएको छ । यो पोखरीको पानी सङ्ग्लो र पारदर्शी छ । मौसम सफा भएका बेला कन्चनजङ्घा र कुम्भकर्णसहित विभिन्न हिमशृङ्खलाको मनमोहक दृष्य, अग्ला पहाड र थुम्का भारत र सिक्किमका विभिन्न ठाउँ देख्न सकिन्छ ।
साउन भदौमा पोखरीकोे छेउछाउमा फुल्ने केन्जोले त्यहाँको वातावरण सुगन्धित र मनमोहक पार्छ । योसँगै विभिन्न प्रजातिका लालीगुराँस चिमल, माइकोपिला, सुनाखरी, पाँचऔले, हडचुर, पदमचाल कालो र सेतो विख्मा, कुड्की, पाखनवेत, बुढोओखती, भैरुङ्पाती, सुनपाती, सिक्पा वनस्पति जस्ता वनस्पती र भालु, कस्तुरी, वनभेडा, बँदेल, रेडपाण्डा र हिउँ चितुवा आदी दुर्लभ प्रजातिका वन्यजन्तु पाइन्छन् ।
आजभन्दा करिब तीन सय वर्षअगाडि भेडी गोठ सार्दै उच्च पहाडी र हिमाली क्षेत्रमा भेडा पाल्ने व्यवसायीले भेडी गोठ सार्दै जाने व्रmममा यो पोखरीमा पहिलो पटक पुगेर तिम्बुङ पोखरी पत्ता लगाएको भन्ने जनश्रुति छ । बुढापाकाका अनुसार पृथ्वीमा ठुला ठुला घटना दुर्घटना हुने बेलामा तिम्बुङ पोखरीमा बन्दुक पड्के जस्तोे आवाज आउँछ ।
लिम्बू भाषामा बन्दुकलाई तिम्मक भनिन्छ । घटनाको बन्दुक पड्केको आवाजमा जनाउ दिने भएकाले यसलाई लिम्बू भाषामा तिम्मक नामकरण गरिएको जनश्रुति छ । पछिल्लो समयमा अपभं्रश भएर तिम्बुङ पोखरी हुन पुगेको भाषाका जानकार बताउँछन् ।
यस क्षेत्रको विकासका लागि ताप्लेजुङ र पाँचथरतर्फबाट प्रयास भइरहेका छन् । ताप्लेजुङतर्फबाट यहाँ पुग्न घोडेटो बाटो निर्माण भएको छ । दुवै जिल्लाका स्थानीय तहले तिम्बुङ पोखरी क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रमा काम गरिरहेका छन् ।
– राधा लुइटेल