09/26/2025, 00:36:23
बिहिबार, असोज ०९, २०८२
ब्ल्याक स्टोन क्लासिक पावर लिफ्टिङ च्याम्पियनसिप

धनगढीमा ब्ल्याक स्टोन पावर लिफ्टिङ शुक्रबार हुने


धनगढी, असोज ९ — ब्ल्याक स्टोन फिटनेसले भोलि शुक्रबार सुदूरपश्चिममा खेलकुद, फिटनेस र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्ल्याक स्टोन क्लासिक पावर लिफ्टिङ च्याम्पियनसिप गर्ने भएको छ ।

ब्ल्याक स्टोन फिटनेस परिसरमा हुने एकदिने प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने र युवामा पावर स्पोर्टसप्रति आकर्षण बढाउने लक्ष्य लिएको छ ।

ब्ल्याक स्टोन फिटनेसका सह–संस्थापक तथा प्रमुख प्रशिक्षक ज्ञानेन्द्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलनमार्फत यो प्रतियोगिता सुदूरपश्चिमकै ठूलो फिटनेस तथा पावर लिफ्टिङ स्पर्धा भएको बताए । उनले स्थानीय खेलाडीलाई अवसर दिनुका साथै स्वस्थ समाज निर्माणमा यसले योगदान पुग्ने अपेक्षा व्यक्त गरे ।

पुरुषतर्फ ६६ केजीमुनि, ६६–७४ केजी, ७४–८३ केजी र ८३ केजीमाथि तथा महिलातर्फ ५२ केजीमुनि, ५२–६३ केजी, ६३ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । विशेष आकर्षणका रूपमा ४० वर्षभन्दा माथिको पुरुष खेलाडीको गेस्ट लिफ्टिङ विधा रहेको छ ।

फारवेस्ट स्ट्रङ्गेस्ट पुरुष र महिला पावर लिफ्टिङ विजेतालाई १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रत्येक तौलमा पहिलो हुनेले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले २ हजार ५ सय पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका लागि ८ लाख बढी खर्च हुने अनुमान छ । एसपीए कलेज धनगढी एकेडेमिक पार्टनर रहेको छ । खेल बजार (स्पोर्ट्स वेयर पार्टनर), ब्रेड बक्स (फुड एन्ड बेभरेज पार्टनर) र बीवाईडी (ड्राइभन बाइ) लगायतका संस्था प्रायोजकमा रहेको आयोजकले जनाएको छ ।