संयुक्त राष्ट्रसङ्, असोज ८ गते । फ्रान्सदेखि दक्षिण कोरिया, दक्षिण अफ्रिकादेखि सुरिनामसम्मका नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घ (युएन) का महासचिव एन्टोनियो गुटेरेसको युद्ध, गरिबी र जलवायु अराजकताजस्ता वैश्विक चुनौतीलाई मिलेर सम्बोधन गर्ने आह्वानलाई समर्थन गरेका छन् ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘अमेरिका फस्र्ट’ एजेन्डा जोडका साथ प्रस्तुत गर्नुभयो । गुटेरेसले महासभाको वार्षिक अधिवेशन उद्घाटन गर्दै युद्धभन्दा शान्ति, अराजकताभन्दा कानून र आत्महितभन्दा सहकार्यलाई रोज्न नेताहरूलाई आग्रह गर्नुभयो । उहाँले बढ्दो बहुध्रुवीय विश्वमा चीन र भारतजस्ता शक्तिको उदयलाई स्वीकार गर्दै प्रभावकारी सहयोग र संस्थागत संरचना बिना अराजकता बढ्ने चेतावनी दिनुभयो ।
-नेताहरूको चेतावनी र समर्थन-
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्वितीय विश्वयुद्धपछि बनेको युएन ८० वर्षपछि ‘विभाजनका कारण कमजोर बन्दै गएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “जटिल संसारले युएनका शान्ति, न्याय र मानव अधिकारका आधारभूत सिद्धान्तलाई समर्थन नगर्ने कारण बन्नु हुँदैन ।” सुरिनामकी राष्ट्रपति जेनिफर गेरलिङ्स-साइमन्सले बहुपक्षवादलाई ‘मानवताको महान उपलब्धि’ भन्दै यसको सुरक्षा आवश्यक भएको बताउनुभयो ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले युएन सदस्यता साझा मानवताको प्रतीक भएको बताउनुभयो । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भन्नुभयो, “समय जति कठिन हुन्छ, त्यति नै हामीले युएनको आधारभूत भावनामा फर्कनुपर्छ ।”
-ट्रम्पको अमेरिका फस्र्ट-
तर दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि महासभामा पहिलो सम्बोधन गर्दै ट्रम्पले कुनै सम्झौता नगरी ‘अमेरिका फस्र्ट’ भाषण दिनुभयो । उहाँले अमेरिकालाई ‘सबैभन्दा बलियो सीमा, सेना, मित्रता र भावना भएको राष्ट्र’ भन्दै ‘यो अमेरिकाको स्वर्ण युग हो’ भनी दाबी गर्नुभयो ।
ट्रम्पले युएनलाई असक्षम संस्था भन्दै आलोचना गर्नुभयो र एस्केलेटर बिग्रिनु तथा टेलिप्रोम्प्टर नचालिनुजस्ता घटनामा समेत दोषारोपण गर्नुभयो । युएनले ती समस्याको जिम्मा अन्य पक्षमा लगाएको थियो । तर गुटेरेससँगको भेटमा उहाँको स्वर नरम हुँदै ‘अमेरिका युएनको सतप्रतिशत पछि छ’ भन्नुभयो ।
-विश्वका द्वन्द्व र ट्रम्पको धारणा-
महासभासँगै सुरक्षा परिषद्ले युक्रेन र गाजाको युद्धबारे आपत्कालीन बैठक गर्यो । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले सामाजिक सञ्जालमा ‘युक्रेनले रुससँग गुमाएका सबै भूभाग पुनः पाउन सक्छ’ भन्नुभयो । यद्यपि उहाँले पहिले क्षेत्रीय सम्झौता गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
गाजामा बैठकले अमेरिकाको अलगावलाई झल्कायो । अधिकांश राष्ट्रहरूले युद्धविराम र मानवीय सहायता मागे पनि नयाँ अमेरिकी राजदूत माइक वाल्ट्जले बैठकलाई ‘छल’ भन्नुभयो ।
-मध्यपूर्वमा मतभेद-
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार शान्तिका लागि इच्छुक नभएको आरोप लगाउँदै प्यालेस्टिनीको स्वतन्त्र राज्यको अधिकार निर्विवाद भएको बताउनुभयो । फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने अभियानको नेतृत्व गरेपछि अमेरिकासहितका शक्तिबिच अझै गहिरो विभाजन देखिएको छ ।
-आर्थिक सङ्कटमा युएन-
युएनमा बजेटीय सङ्कट पनि चर्किएको छ । अमेरिकासहित केही राष्ट्रले कोष फिर्ता लिएपछि मानवीय सहायता अपुरो भएको गुटेरेसले ‘धेरैका लागि मृत्युदण्ड सरह’ भन्नुयभो । मानवतावादी प्रमुख टम फ्लेचरले ११ करोडभन्दा बढी मानिसलाई सहयोगका लागि मागिएको नौ अर्ब डलरमध्ये अहिलेसम्म १९ प्रतिवशत मात्र वित्तपोषण भएको बताउनुभयो । यसैबिच, गुटेरेस र ट्रम्पबिच संवादलाई फ्लेचरले ‘सकारात्मक र आवश्यक कूटनीतिक संवाद’ भन्नुभएको छ ।