09/24/2025, 22:28:05
बुधबार, असोज ०८, २०८२

महिला फुटबल एन्फाको प्राथमिकतामा


काठमाडौँ, असोज ८ : नेपाली फुटबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाइरहेको महिला फुटबललाई प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलबार २०८२ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

पछिल्ला केही वर्षदेखि सानदार प्रदर्शन गर्दै आइरहेको नेपालको महिला टिमले भारतसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल्ने भएको छ । एन्फाका अनुसार सो मैत्री खेल कात्तिक ९ गते भारतको सिक्किममा हुने छ । यी दुई टिमले पछिल्लो पटक नेपालमा भएको साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा खेलेका थिए । सो खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर फाइनलमा स्थान बनाएको थियो ।

यसै गरी नेपाली महिला टोलीले इन्डोनेसिया र चाइनिज ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खला खेल्ने छ । सो मैत्री शृङ्खला इन्डोनेसियामा नोभेम्बर २६ देखि डिसेम्बर २ तारिखसम्म हुने छ ।  नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्ने छ । त्यसपछि नेपालले डिसेम्बर २ मा चाइनिज ताइपेईको सामना गर्ने छ । फिफा महिला वरीयतामा इन्डोनेसिया १०६, चाइनिज ताइपेई ४२ औँ स्थानमा रहेका छन् । नेपाल फिफा वरीयतामा ८९ औँ स्थानमा छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिप मङ्सिर १९ देखि पुस ५ सम्म दशरथ रङ्गशालामा हुँदै छ । जसमा नेपालको प्रतिनिधत्व घरेलु महिला लिग च्याम्पियन एपिएफले गर्ने छ । अन्य टिममा बङ्गलादेशको नसरिन स्पोटर्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसिल र पाकिस्तानको कराँची सिटी फुटबल टिम रहेका छन् ।

एन्फाले यो वर्ष दुई महिला लिग आयोजनाको तयारी पनि गरेको छ । एन्फाले क्यालेन्डरमा पहिलो पटक हुन लागेको सहिद स्मारक महिला लिग र सहिद स्मारक महिला सुपर लिग प्रतियोगिता समावेश छन् । एन्फाका अनुसार महिला लिग माघ ९ देखि फागुन ५ सम्म काठमाडौँबाहिर हुने छ । आगामी फागुन ९ देखि १६ सम्म हुने महिला सुपर लिगको स्थान भने तोकिएको छैन । यसै गरी एन्फा महिला च्याम्पियनसिप पुस ११ देखि २२ सम्म च्यासल मैदानमा हुने छ ।

नेपालको राष्ट्रिय पुरुष फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्री खेल खेल्ने छैन । नेपालको पुरुष टिम एएफसी एसियन कप क्वालिफायरमा सहभागी हुने छ । सो छनोट अन्तर्गत अर्को महिना भियतनामविरुद्धको दुवै खेल नेपालले विपक्षीकै मैदानमा खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको मैदान अयोग्य भएपछि नेपालले घरेलु मैदानमा खेल्ने अर्को अवसर गुमाएको हो । नेपाल र भियतनामबिचको पहिलो खेल असोज २३ गते बिन्ह डुओङ रङ्गशालामा हुने छ । नेपालले आफ्नो होम म्याचका लागि थोङ न्हाट रङ्गशालालाई चयन गरेको छ । दोस्रोे खेल असोज २८ गते हुने छ । खेल तालिका अनुसार दोस्रो खेल खेल्न भियतनामको टिमले नेपाल भ्रमण गर्नुपर्ने थियो ।

समूह ‘एफ’ अन्तर्गत नेपालले त्यसपछि मलेसियासँग मङ्सिर २ र लाओससँग चैत १७ गते खेल्ने छ । एसियन कप क्वालिफायर्समा नेपाल अङ्क तालिकामा अन्तिम स्थानमा रहेको छ । मलेसिया शीर्ष स्थानमा, भियतनाम दोस्रो र लाओस तेस्रो स्थानमा छन् । समूह विजेता टिम सन् २०२७ मा साउदी अरबमा हुने एसिया कपमा खेल्न योग्य हुने छ ।

एन्फाले सार्वजनिक गरेको क्यालेन्डरमा फ्रेन्चाइ फुटबल नेपाल सुपर लिग भने समावेश छैन । यसअघि एन्फाले आफ्नै क्यालेन्डरमा नेपाल सुपर लिग सन् २०२५ मा हुने उल्लेख गरेको थियो । एन्फाका अनुसार सहिद स्मारक ‘ए’ डिभजन लिग पुस ९ देखि असार २६ गतेसम्म हुने छ ।

अन्य प्रतियोगितामा एन्फा प्रेसिडेन्ट लिग २०२५ कात्तिक १६ देखि मङ्सिर ६ गतेसम्म काठमाडौँबाहिर, एन्फा यु–१६ युथ लिग २०२५ कात्तिक १७ देखि मङ्सिर २ सम्म, सहिद स्मारक ‘सी’ डिभिजन लिग २०२५ मङ्सिर ४ देखि २८ गतेसम्म, ललत स्मृति यु–१८ युथ लिग २०२५ लिग मङ्सिर २९ देखि आयोजना गरिने छ । यु–१६, ‘सी’ डिभिजन र यु–१८ लिग एन्फा कम्प्लेक्समा हुने छ ।