काठमाडौँ, असोज ५ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार दिउँसो बसेको बैठकले सो निर्णय गरेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे विस्तार गर्नुभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”
उहाँले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राख्नुभयो । उहाँका अनुसार, माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ । बैठकले आगामी कार्यक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उहाँको भनाइ छ।
राससका अनुसार, पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिको ‘एजेण्डा’का रुपमा प्रस्तुत गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
“महाधिवशेनमा जाने कुरा भइरहेको थियो, बदलिँदो परिस्थितिमा आधिकारिक मञ्चबाट संस्थागत धारणा बनाउनुपर्ने आवश्यकता भयो । पार्टी जीवनको सबैभन्दा सर्वोच्च संस्था महाधिवशेन हो”, प्रवक्ता सापकोटाले भन्नुभयो, “महाधिवेशनमा जानका लागि मौजुदा केन्द्रीय समिति विघटन गरेर अध्यक्षको संयोजकत्वमा महाधिवशेन आयोजक समिति बनाउने प्रचलन छ ।”
विशेष महाधिवशेनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न माओवादीले यही असोज ८ गते स्थायी समिति बैठक बोलाएको छ । सो बैठकमा पदाधिकारी बैठकको निर्णयबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठक यही असोज ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकको प्रस्तावमाथि छलफल गरी निर्णय लिनेछ । जेनजी प्रदर्शनपछि राजनीतिक दलमा पुस्तान्तरणका लागि दबाब बढिरहेको छ ।
“नेतृत्वको हस्तान्तरण सम्बन्धमा विचार, विधि र प्रक्रियाका बारेमा प्रारम्भिक छलफल भयो”, उपाध्यक्ष सापकोटाले भन्नुभयो, “आगामी कार्यक्रमका बारेमा पनि विस्तृत छलफल भएको छ । सोसम्बन्धी प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरिएको छ ।”
बैठकमा अध्यक्ष दाहालले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै पार्टी नयाँ स्वरुपबाट अघि बढ्नुपर्ने प्रस्ताव राख्नुभएको थियो । अध्यक्षको प्रस्तावमाथि सबै पदाधिकारीले धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन पार्टीका तर्फबाट खेल्नुपर्ने भूमिकामा कुनै कमी आउन नदिने निर्णय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । माओवादीले देशभक्त लोकतान्त्रिक र अग्रगमनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
“देश नयाँ परिस्थितिबाट अघि बढ्दै छ, परिवर्तनकारी शक्ति एकजुट भएर अघि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष छ”, सापकोटाले भन्नुभयो । माओवादीले जेनजी पुस्ताले उठाएका माग जायज भए पनि त्यसभित्र घुसेर निर्माण गरिएको विशेष परिस्थितिमा अग्रगमन पक्षधर शक्तिको एकताबद्ध प्रयास आवश्यक भएको निष्कर्ष निकालेको छ ।