जेनेभा, असोज ३ : सुडानमा तेस्रो वर्षमा प्रवेश गरेको गृहयुद्ध झनै क्रूर र जटिल बन्दै गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । यस युद्धमा सर्वसाधारणमाथि अत्यधिक प्रभाव परेको छ, जसमा हजारौंको ज्यान गइसकेको छ भने जातीय हिंसा र युद्ध अपराध बढिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले उक्त प्रतिवेदन सार्वजनिक गर्दै भन्नुभयो,“सुडानको द्वन्द्व अहिले विश्वको नजरबाट ओझेलमा परेको छ । आशा छ, यो प्रतिवेदनले उक्त भयावह परिस्थितिमा फेरि ध्यान आकर्षित गर्ने छ, जहाँ युद्ध अपराधसहितका क्रूरता भइरहेका छन् ।”
अप्रिल सन् २०२३ देखि सुडानमा नियमित सेना र अर्धसैनिक बल रेपिड सपोर्ट फोर्स (आरएसएफ) बीच सशस्त्र संघर्ष जारी छ । यो द्वन्द्वले हालसम्म दशौं हजारको ज्यान लिइसकेको छ र लाखौंलाई विस्थापित पारेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई विश्वकै सबैभन्दा भयावह मानवीय संकटमध्ये एक भनेको छ ।
हाल युद्धले देशलाई दुई भागमा विभाजित गरिदिएको छ । सरकारी सेनाले उत्तर, पूर्व र मध्य भूभाग नियन्त्रणमा राखेको छ भने आरएसएफले दक्षिण र पश्चिम दार्फुर क्षेत्र कब्जामा लिएको छ । दुबै पक्षबीच युद्धविरामका लागि गरिएका कूटनीतिक प्रयासहरू अहिलेसम्म असफल भएका छन् । प्रतिवेदनअनुसार,सन् २०२५ को पहिलो ६ महिनामा मात्र तीन हजार ३८४ जना सर्वसाधारणको मृत्यु भएको छ, जुन सन् २०२४ को कुल मृत्यु सङ्ख्याको ८० प्रतिशत हो ।
यसले द्वन्द्व झनै क्रूर बन्दै गएको संकेत गर्दछ । त्यसैगरी, यौनजन्य हिंसा, अन्धाधुन्ध आक्रमण र जातीय आधारमा प्रतिशोधी हमला भइरहेका घटना निरन्तर जारी छन् । प्रतिवेदनमा नयाँ प्रवृत्तिका रूपमा ड्रोन आक्रमणसमेत देखिएको उल्लेख छ, जसले उत्तर र पूर्वजस्ता हालसम्म सुरक्षित मानिएका क्षेत्रलाई पनि असर पार्न थालेको छ ।
मानव अधिकार प्रमुख टर्कले चेतावनी दिँदै भन्नुभयो,“जातीय विभाजनमा आधारित द्वन्द्वले देशको दीर्घकालीन स्थिरता र सामाजिक एकतामा गम्भीर संकट ल्याउने छ ।” साथै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त हस्तक्षेप गरी द्वन्द्व अन्त्य गराउन आग्रह गर्नुभयो । “यदि तत्काल नागरिकको सुरक्षा र मानवीय सहायता पहुँच सुनिश्चित गरिएन भने, अझ धेरै निर्दोष मानिसले ज्यान गुमाउने छन्,” टर्कले भन्नुभयो ।