09/16/2025, 18:38:05
मङ्गलबार, भदौ ३१, २०८२

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानी मुद्दा हाल्ने ट्रम्पको घोषणा


वासिङ्टन, भदौ ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानी र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गर्नु भएको छ । “न्युयोर्क टाइम्सलाई स्वतन्त्ररूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ !” उहाँले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेख्नु भएको थियो । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ ।

एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ । ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गर्नु भएको छ । उहाँले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाउनुभयो, तर कुनै प्रमाण भने प्रस्तुत गर्नु भएन ।

गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोट सम्बन्धी लेखका विषयमा कानुनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गर्नु भएको छ । ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पार्नु भएको छ ।

एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उहाँले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गर्नु भएको थियो । सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेज सम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उहाँको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाउनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..