09/08/2025, 20:00:30
सोमबार, भदौ २३, २०८२

जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न सञ्चार मन्त्रालयको अस्वीकार


२३ भदौ,काठमाडौँ : सामाजिक सञ्जाल निस्क्रिय बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेन-जीको प्रदर्शनबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भ्रष्टाचार, करको दुरुपयोग र सामाजिक सञ्जालको प्रतिबन्ध हटाउन माग गर्दै युवा पुस्ताले सोमबार प्रदर्शन गरेको छ ।

जेन-जीहरुले आफ्ना विरोधहरू रेडिट, डिस्कर्ड, इस्टाग्राम जस्ता एपमा राख्दै आएका थिए । जेन-जीले चलाएको ‘नेपो बेबी’ वा ‘नेपो किड’ अभियान यसअघि सामाजिक सञ्जालमै सीमित थियो । त्यही बेला सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लाटफर्म निस्क्रिय पार्ने निर्णय लियो ।

मन्त्रिपरिषद्को प्रस्तावपछि मन्त्रालयले यो निर्णय लिएको थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यत्रो आन्दोलन भयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै छ, मन्त्रिपरिषद्ले टिप्पणी गर्ला, हामीले गर्न मिल्दैन ।

नातावादको विरोध यस अभियानको मुख्य ध्येय भए पनि सामाजिक सञ्जाल प्रतिबन्धले यसलाई थप बल दियो । सरकारले प्लाटफर्महरू निस्क्रिय गरिदिएपछि युवा पुस्ताले आफ्नो आवाज राख्ने माध्यम गुमाए ।

सामाजिक सञ्जाल प्लाटफर्महरू सूचीकृत हुन नआएसम्म प्रतिबन्ध लगाउने अडानमा रहेको सञ्चार मन्त्रालयले ती प्लाटफर्म आएनन् भने के हुन्छ भन्नेबारे कुनै वैकल्पिक उपाय, कूटनीतिक पहल, रणनीति बनाएको छैन ।