09/08/2025, 19:33:50
सोमबार, भदौ २३, २०८२

आन्दोलनमा घुसपैठ भयो, शान्तिपूर्ण संघर्ष जारी रहन्छ : जेन-जी आन्दोलन


२३ भदौ, काठमाडौँ : जेन-जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सुचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।

राजनीतिक रुपमा परिचालितहरुले आन्दोलनलाई हिंसात्मक बनाएको जेन जी मुभमेन्टको भनाई छ । ‘हाम्रो मुल उद्देश्य सदैव सुशासन, शान्ति हाम्रो पैसा तथा भविष्यको सुरक्षा हो । संसद् भवन हाम्रो शत्रु होइन । संसद् हाम्रो आफ्नो सम्पत्ति हो । जनताको पसिना र करले बनेको संस्था हो । र हाम्रो लक्ष्य हाम्रो सम्पत्तिलाई हानी गर्नु होइन,’ सुचनामा भनिएको छ, ‘यसको बाबजुद केही द्वन्द्वात्मक मनासय बोकेका, यस आन्दोलनलाई आशान्ति र तोडफोड तर्फ तान्नेहरु राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरु हुन्। उनीहरुले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्।