काठमाडौँ, भदौ २२ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो पात्रो र ग्लोबल डायरी आइतबार सूचीकरणपछि सक्रिय भएको जानकारी गराएको छ। यसअघि मन्त्रालयले स्मार्ट आइडिया प्रा. लि. को हाम्रो पात्रो तथा ग्लोबल डायरी प्रा.लि. लाई निष्क्रिय भएको थियो।
सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार भदौ १२ देखि सूचीकरणका लागि सम्पर्कमा नआएकालाई निष्क्रिय गराउने तथा सम्पर्कमा आएकालाई सोही क्षणदेखि पुनः सक्रिय गराउने प्रक्रिया सुरु भइसकेको छ।
यसैगरी, सामाजिक सञ्जालहरु ट्वीटर र वीच्याट ले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकोमा सो विवरण उपलब्ध गराइएको जानकारी उहाँले दिनुभयो। उहाँका अनुसार सर्वोच्च अदालतको आदेश पालनासमेतका लागि गत भदौ ९ गते मन्त्रिपरिषद्बाट भएको निर्णयानुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिइएको थियो।
भिपीएन प्रयोग नगर्न आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत सामाजिक सञ्जालको पहुँच निषेध भइसकेको उल्लेख गर्दै मन्त्रालयले त्यस्ता पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत एवम् जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन समेत आग्रह गरेको छ।
उहाँले नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्मले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सम्पर्कमा आउन पुनः आग्रह गरिएको बताउनुभयो।
नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबै सरोकारवालामा पुनः आग्रह गरिएको उहाँको भनाइ छ।