काठमाडौं , भदौ २२ : युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले पहिलो पटक रुसले युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको बताएकी छन्।
“शत्रुको पहिलो आक्रमणले सरकारी भवनको छाना र माथिल्लो तलालाई क्षति पुर्यायो। उद्धारकर्मीहरूले आगो निभाउने काम गरिरहेका छन्,” स्विरिडेन्कोले फेसबुकमा लेखिन् ।
किभका मेयर भिटाली क्लिच्कोले सरकारी भवनमा आगलागी “कथित ड्रोन आक्रमण” का कारण भएको बताए।
क्लिच्कोले टेलिग्राममा भने – ‘भवन मध्य पेचेर्स्की जिल्लामा अवस्थित थियो र अग्निनियन्त्रकहरूले अझै पनि आगो निभाइरहेका छन्।’
किभका अन्य भागहरूमा पनि आक्रमणहरू भएका छन्। एउटा गोदाम, १६ तले आवासीय भवन र चार तले भवनलाई निशाना बनाइएको थियो।
युक्रेनी अधिकारीहरूले राजधानी किभमा राति गरिएको रुसी ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका छन्।
रुसले मध्य युक्रेनमा अवस्थित राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा पनि आक्रमण गरेको छ।
आइतबार बिहानै किभमा धेरै विस्फोटहरू भए। यी मध्ये कम्तिमा एउटा विस्फोट शहरको केन्द्रमा भएको थियो, जुन बीबीसीले पनि देखेको थियो। धेरै क्रूज मिसाइलहरूले पनि किभलाई लक्षित गरेका थिए।

										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    
										            			                                    















