09/06/2025, 13:04:11
शनिबार, भदौ २१, २०८२
खप्तड

खप्तड यात्रा : बाइस पाटन त्रिपन्न थुम्का

खप्तड क्षेत्रको बिचमा १२ हजार फिट अग्लो खप्तड लेक, जहाँ २२ वटा पाटन, घाँसे मैदान र २६ वटा ताल तलैया छन् । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा ‘झोती’ भनिन्छ


सन् १९२९ मा बझाङी राजा रामजङ्गबहादुर सिंहको सहयोगमा पहिलो पटक खप्तड टेकेका एक भारतीय चिकित्सकले जीवन त्यतै व्यतित गर्नुभयो । खप्तडमै तपोकुटी (बाबा कुटी) निर्माण गरी ५० वर्षभन्दा बढी समय कठोर साधना गर्नुभयो, जो पछि खप्तड बाबा (विसं १९३७–२०५३) रूपमा प्रख्यात बन्नुभयो । चिकित्सा पेसामा रहँदा अन्तरप्रेरणाले पूर्वीय दर्शनको अध्ययन गरेपछि खप्तडले सन्न्यास ग्रहण गर्नुभएको पाइन्छ । काशी (वनारस) को दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन र अध्यापन गरेपछि साधनाका लागि उहाँ नेपाल आउनुभएको थियो । खप्तड बाबाले मानव जीवनलाई शान्त र सुखी पार्न विचारको नियन्त्रणमा जोड दिनुभयो । विचार नै खुसी र दुःखको स्रोत भएको सन्देश उहाँको छ ।

खप्तडको पौराणिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई लोकप्रियताको शिखरमा पु¥याउने श्रेय खप्तड बाबालाई नै जान्छ । खप्तडमै बसेर बाबाले विचारविज्ञान, धर्म विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरुष धर्म, योग विज्ञान, आत्मज्ञान, आरोग्य विज्ञान, वेदान्त विज्ञानलगायत डेढ दर्जनभन्दा बढी पुस्तक लेख्नुभएको छ । पौराणिककालदेखि धार्मिक महìव रहेको यस क्षेत्रमा खप्तड बाबाको बसाइपछि झनै चर्चित बनेको पाइन्छ ।

सेती अञ्चलका चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको सङ्गमस्थलमा छ, खप्तड राष्ट्रिय निकुञ्ज । यसको क्षेत्रफल २२५ वर्गकिलोमिटर छ । यसको स्थापना विसं २०४२ असार ९ मा भएको हो । समुद्री सतहबाट एक हजार ४२० मिटरको चौकी भन्ज्याङदेखि तीन हजार तीन मिटर उचाइको सहस्रलिङ्गसम्म खप्तड फैलिएको छ । खप्तड क्षेत्रको बिचमा १२ हजार फिट अग्लो खप्तड लेक, जहाँ २२ वटा पाटन, घाँसे मैदान र २६ वटा ताल तलैया छन् । यसको वरिपरि ५३ वटा थुम्का छन्, जसलाई स्थानीय भाषामा ‘झोती’ भनिन्छ ।

निकुञ्ज कार्यालयका अनुसार खप्तडमा ३८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन् । जसमा रुख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा आठ र उन्यु १९ प्रजातिका अभिलेख भएका छन् । यो क्षेत्र कालकूट, पदमचाल, पाँचऔँले, चिराइतो, सालम, टिम्मुर, नीरमसी जस्ता जडीबुटीको भण्डार मानिन्छ  । नेपालमा पाइने सात सय मुख्य जडीबुटीमध्ये २२४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ । लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तिस, महुवा, लौठसल्ला आदिका रुख–वनस्पति यहाँ पाइन्छन् ।

यस क्षेत्रमा १२ वटा गुफा छन् । २८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरीसृप तथा छ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा जस्ता दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा खप्तडमा छन् । कस्तुरी मृग, चरीबाघ तथा ब्वाँसो जस्ता संरक्षित जीव खप्तडका सम्पत्ति हुन् ।

किंवदन्ती अनुसार पाँच पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् । पौराणिककालमा सिद्ध तथा ऋषिमुनिले तपस्या गरेको यस क्षेत्रलाई स्कन्दपुराणमा ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर भनेको देवताको वासस्थान र उनीहरूको घुम्ने तपोभूमि हो । पौराणिककालमा मायावी शक्ति भएका देवीदेवता गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

खप्तड क्षेत्रलाई प्राचीन समयमा खापर तड (खापर–देवता र तड–पाटन) अर्थात् खापर देवताको पाटन वा फाँट भनेर चिनिन्थ्यो । विस्तारै विस्तारै उक्त नाम अपभ्रंश हुँदै यस क्षेत्रको नाम खप्तड रहन गएको किंवदन्ती पाइन्छ । २०२२ सालमा राजा महेन्द्रले खप्तड बाबासँग भेट गरेपछि खप्तडको चर्चा चुलिएको थियो । खप्तडमा जेठ महिनाको शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेला, त्रिवेणीधाममा भदौमा लाग्ने जैनपूर्णिमा मेला प्रख्यात छन् । ती मेलामा सुदूरपश्चिमको कला, संस्कृति, भाषा, वेशभूषा देख्न पाइन्छ ।

धार्मिक महत्व

वर्षको छ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दुको पवित्र तीर्थ स्थान हो । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्रलिङ्ग, गणेश मन्दिर, नागढुङ्गा, केदार ढुङ्गा जस्ता धार्मिक स्थल प्रख्यात छन् । खप्तडमा लाग्ने सांस्कृतिक मेला परापूर्वकालदेखि नै प्रचलित र प्रख्यात छन् ।

खप्तड दह

निकै आकर्षक देखिन्छ– खप्तड दह । करिब सय मिटर चौडाइ तथा ५० मिटर लम्बाइको यो तालको उद्गम र निकास छैन ।

जगन्नाथको मन्दिरमा (शिव भगवान्) पूजा भएको बेला तालमा चढाएका फूल र पानी खप्तड छान्ना गाउँपालिकाका पुजारी गाउँमा निस्किने जनविश्वास छ । यो दहमा बाह्रै महिना पानीको सतह एकनास रहने बताइन्छ । यो दहका दुई वटा नाम छन् किनभने यस दहमा दुई रङका पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी देखिने भएकाले यसलाई खापर दह भनिन्छ । यसलाई दुधिर वीर देवताका रूप मानिन्छ । धमिलो पानी भएको आधा दहलाई अशङ्खी भनिन्छ र त्यसलाई नीलकण्ठ कालीका रूप मानिन्छ ।

यो दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । मन्दिरको छेवैमा हवनकुण्ड रहेको छ । यो मन्दिर तेह्रौँ शताब्दीभन्दा पहिले नै निर्माण भएको मानिन्छ । त्यस मन्दिरको संरक्षण तथा सम्भार खप्तड छान्ना गाउँपालिकाका थापा परिवारले गर्दै आएका छन् । खापर जगन्नाथको मन्दिरमा भदौ महिनामा मेला लाग्छ ।

गङ्गा दशहरा मेला

खप्तडको त्रिवेणी मन्दिरपरिसरमा जेष्ठ शुक्ल दशमीको दिन गङ्गा दशहरा मेला लाग्छ । जेष्ठ शुक्ल दशमीमा हस्ता नक्षेत्र पर्ने हुँदा यस तिथिमा गङ्गा स्नान गर्नाले धेरै पापको नाश हुन्छ भन्ने धार्मिक विश्वास छ । हस्ता नक्षेत्र परेको बेला बुधबारको दिनमा गङ्गावतरण (गङ्गाको पृथ्वीमा अवतरण) भएको थियो भन्ने धार्मिक मान्यता रहिआएको छ । यसैले धार्मिक मान्यता अनुसार यस तिथिको धेरै महत्व रहेको छ । यो तिथिमा गङ्गास्नान गरी दान, तर्पण गर्नाले १० वटा पाप नाश हुने धार्मिक मान्यता अनुसार यसलाई दशहराको नामले चिनिने गरिएको छ ।

त्रिवेणीधाम

खप्तड स्वामीद्वारा लिखित धर्म विज्ञानमा उल्लेख भए अनुसार सोलिङ्गखोला सहस्रलिङ्ग भएर बग्दै आउँछ । यसलाई ‘गङ्गा नदी’ भनिन्छ । डाँफेकोट भएर डाँफेकोटखोला बग्दै आउँछ । यसलाई ‘यमुना’ भनिन्छ । यसै गरी प्राचीन धर्मशालामुन्तिर गुप्त बगेकी नदीलाई ‘सरस्वती नदी’ भनिन्छ । गङ्गा, यमुना र सरस्वतीको सङ्गम स्थललाई नै त्रिवेणी भनिन्छ । निकुञ्जको बिच भागमा रहेको त्रिवेणी क्षेत्रमा गङ्गा दशहराका दिन मेला लाग्छ । उक्त त्रिवेणीमा स्नान गर्दा इच्छित फल प्राप्त हुनुका साथै पाप मोक्ष हुने जनविश्वास छ ।

सहस्रलिङ्ग

समुद्री सतहबाट करिब १२ हजार फिट उचाइमा रहेका तीन वटा चुचुरा भएको ठुलो शिलालाई सहस्रलिङ्गका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीय बासिन्दाले शङ्करी शिला पनि भन्छन् । उक्त शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती तथा तेस्रोमा भगवान् गणेश विराजमान भएको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिङ्ग आकारका सयौँ ससाना चुचुरा छन् । धार्मिक ग्रन्थमा उक्त सहस्रलिङ्गको महत्व काशी विश्वनाथजत्तिकै बताइएको छ । मनोकामना पूरा होस् भनेर भक्तजनले सहस्रलिङ्गमा घन्ट चढाउँछन् ।

खप्तड बाबा कुटी

घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तड बाबाको कुटी छ  । बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा बझाङ्गी राजा रामजङ्गबहादुर सिंहले खप्तड बाबाका लागि निर्माण गरिदिनुभएको हो । स्लेटले छाएको यो कुटीमा योगसाधना कक्ष, गर्भगृह तथा तप योग कक्ष छन् । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तड बाबाले प्रयोग गरेका सामग्री, पुस्तकलगायत सामग्री सुरक्षित छन् ।

केदार ढुङ्गा त्रिवेणीधामनजिकै छ । यसको कथा महाभारतसँग जोडिएको छ । महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्न पाण्डवहरू खप्तडको पाटन आइपुगे । पाण्डवहरूले त्यहाँ पूजा, होम, तर्पण आदि गरेपछि उनीहरू शिवजीको दर्शनका लागि एकाग्र भए । राँगा/भैँसीको बथानमा राँगाको भेषमा विचरण गरिरहेका शिवको दर्शन टाढैबाट गरे पनि नजिकै पुग्दा ती शिवस्वरूप केदार विशाल शिलामा परिणत भइसकेका थिए । तीर्थालुहरू अहिले त्यसको पूजाआजा गर्छन् ।

खप्तडमा पर्यटक

खप्तडमा आर्थिक वर्ष २०७४ देखि २०८१ सम्ममा तीन हजार ३७० नेपाली, ३२ जना विदेशी र सार्क राष्ट्रका २६ जना गरी तीन हजार ४२८ जना पर्यटक निकुञ्ज प्रवेश गरेको तथ्याङ्क निकुञ्ज कार्यालयसँग छ । सो क्षेत्रमा पर्यटकलाई पुग्न, बस्न र घुम्नका लागि सहज व्यवस्थापन हुन नसक्नु नै पर्यटक कमीको मुख्य कारण हुन सक्छ । निकुञ्जको ऐन, नियमले निजी क्षेत्र लगानी गर्न उत्सुक नभएको स्थानीय बताउँछन् । नेपाल सरकारले यस निकुञ्ज वरिपरिका स्थानीय समुदायलाई संरक्षणमा प्रत्यक्ष सहभागी गराई तिनको जीवनस्तरमा सुधार ल्याउने उद्देश्य राखेको छ । निकुञ्ज वरिपरिका डोटी, बझाङ, अछाम र बाजुरा जिल्लाका २१६ वर्गकिमी क्षेत्र समावेश गरी २०६३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरेको थियो । यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा २५० वटा उपभोक्ता समूह, १४ वटा उपभोक्ता समिति र एक मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति रहेका छन । मध्यवर्ती क्षेत्रका करिब १६५ गाउँबस्तीमा आर्थिक उपलब्धि हुने गरी योजनाबद्ध विकास हुन नसक्नुले यस क्षेत्रको पर्यटक विकास चाहे जसरी हुन नसकेको पाइन्छ ।

– रमेश बहादुर थापा