३० साउन, काठमाडौं : अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले पनि कामको गति बढाएको छ । सोही क्रममा एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइन र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता गरेको छ ।
एमसीए नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको हो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच सम्झौता भएको हो ।
संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । यसअनुसार एमसीए नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी आयोजनाका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको एमसीए नेपालले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनले रोकिएको एमसीसी कार्यक्रमले यही साउन तेस्रो साता निरन्तरताको अनुमति पाएको थियो । कार्यक्रमलाई निरन्तरता दिन अमेरिकी सरकारले निर्णय गरेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले अर्थ मन्त्रालयलाई औपचारिक जानकारी गराएको थियो । ‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ, हामीले नेपाल सरकारलाई यस निर्णयबारे सूचित गराएका छौं,’ दुई साताअघि अमेरिकी दूतावासले भनेको थियो, ‘५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलर योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ ।’
यो निर्णयसँगै निर्बाध रूपमा एमसीसी नेपालको कार्यक्रम अघि बढ्न बाटो खुलेको थियो । उक्त अनुमतिपछि एमसीए नेपालले पहिलो पटक दुई प्रसारण लाइनको निर्माण सम्झौता गरेको हो । त्यसअघि एमसीए नेपालले निर्माण सुरु भएका आयोजनाको काम जारी रहिरहेको दाबी गरे पनि नयाँ काम हुन सकेको थिएन । निर्माणको गति पनि सुस्त थियो । अब भने एमसीए नेपालले नयाँ निर्माणको काम पनि अघि बढाएको हो ।
अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट छानिएका दुई निर्माण कम्पनीसँग बिहीबार सम्झौता गरिएको हो । यसअनुसार एमसीए नेपालले रातमाटे–नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम) सँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग गरेको हो ।
अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर (करिब साढे २१ अर्ब नेपाली रुपैयाँ) रहेका यी सम्झौताअन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायत काम हुनेछन् ।
प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोग निकै महत्त्वपूर्ण रहेको एमसीए नेपालका सञ्चालक समितिका अध्यक्ष एवं अर्थ सचिव घनश्याम उपाध्यायले बताए । यस कार्यक्रमका लागि नेपाल सरकार पनि निरन्तर सहयोग गरेर समयमै आयोजना सम्पन्न गर्न लागिपर्ने उनले बताए । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका क्रममा यी प्रसारण लाइन कोसेढुंगा सावित हुने उनको भनाइ छ ।
‘सम्झौतामा हस्ताक्षर गरी एमसीसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यहरूमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको छ,’ एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले भने, ‘नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौं ।’
नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनको सहलगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ वैशाख ५ मा एमसीए–नेपाल स्थापना गरिएको हो । ‘आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो,’ नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले भने, ‘यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं ।’
नेपाल र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको एक महत्त्वपूर्ण आधारशिला एमसीसी कम्प्याक्ट नेपाल भएको र यसले सम्पूर्ण नेपाली नागरिकलाई लाभान्वित गर्ने उनले बताए । ‘नेपाल र नेपालीको उज्यालो भविष्यसँग एकैसाथ अघि बढ्न पाउँदा गर्वको अनुभूति गरिरहेका छौं,’ उनले भने ।
कम्प्याक्टलाई अघि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको सराहना गरिने एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले जनाए । ‘आजको यो महत्त्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ,’ उनले भने । एमसीए नेपालले दिगो सहकार्य गर्दै आयोजनाअन्तर्गतका कार्यक्रम सफल निर्माण तथा कार्यान्वयनमा केन्द्रित रहने विष्टको भनाइ छ ।
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको लगानी ऐतिहासिक भएको बताइएको छ । यसअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउन एमसीसी नेपाल कम्प्याक्ट तयार रहेको जनाइएको छ ।
एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो । २०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार २०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको हो । सुरुवाती सम्झौतामा ६९ करोड ७० लाख डलरको (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर बेहोर्ने उल्लेख छ ।