साउन २४, बर्दिवास : गाईजात्राको सांस्कृतिक उल्लास र हास्यव्यङ्ग्यको संगम शनिबार बर्दिवासमा विशेष रूपमा देखियो । सिस्नुपानी नेपाल महोत्तरीले आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ शीर्षकको महोत्सव रंगीन प्रस्तुती, व्यङ्ग्यमूलक संवाद र कलात्मक अभिव्यक्तिले भरिपूर्ण रह्यो ।
कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाले गरेकी थिइन् भने विशिष्ट अतिथि बर्दिवास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री थिए । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता र उपाध्यक्ष जीवनराज दाहालको स्वागत मन्तव्यपछि सह–सञ्चालक विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीको जोडीले सम्पूर्ण वातावरणलाई हाँस्य–रमाइलोले भरिदिए ।

साहित्यकार, पत्रकार, व्यवसायी, समाजसेवीदेखि लिएर स्थानीय अग्रजहरूसम्मको उपस्थिति उल्लेखनीय थियो । होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्ष रुद्रसेन विश्वकर्मा लगायत प्रतिष्ठित व्यक्तिहरूको सहभागिताले कार्यक्रमको गरिमा थपिएको थियो ।

कविता, गीत, नृत्य, जादु र प्रहसनजस्ता विविध विधाहरूको मिश्रणले दर्शकलाई निरन्तर मनोरञ्जन दिइराख्यो । बेलबहादुर परियार, कविता दाहाल, जीवनाथ पोखरेल, रमेश खत्री, कृष्ण क्याप्छाकी लगायत कलाकारहरूको प्रस्तुतीले सभाहलमा हाँसो र तालीको लहर ल्यायो ।
अतिथिहरूले यस्ता कार्यक्रमहरूले केवल मनोरञ्जन मात्र नभई समाजका विकृति–विसङ्गतिलाई उजागर गर्दै चेतना जगाउने भूमिका निर्वाह गर्ने कुरा बताएका थिए ।

अन्तिममा आयोजक अध्यक्ष काफ्लेलाई आगामी दिनहरूमा पनि बर्दिवासमा यस्ता सांस्कृतिक तथा व्यङ्ग्यमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै सहयोगी र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












