२२ साउन, धनगढी : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लज्जास्पद् नतिजा ल्याएको कैलारी गाउँपालिकास्थित सामुदायिक विद्यालयको कक्षा १२ को नतिजा पनि कमजोर आएको छ।
राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार सो पालिकाबाट जम्मा ३४ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। कैलारीस्थित पाँच वटा सामुदायिक विद्यालयबाट २५७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। जसमध्ये १३.२२ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्।
दिपेन्द्र माध्यमिक विद्यालय हसुलियाबाट सबैभन्दा बढी ९७ जना विद्यार्थीले परीक्षा दिएकोमा १७ जना उत्तीर्ण भएका छन्। यस्तै, जनकल्याण मावि पवेराबाट २५ जनाले परीक्षा दिएकोमा सात जना उत्तीर्ण भएका छन्। लक्ष्मी मावि पृथ्वीपुरबाट २७ जनाले परीक्षा दिएकोमा सबै फेल भएका छन्। त्यस्तै, राष्ट्रिय मावि बिचैपुरबाट साधारणतर्फ ४२ जनाले परीक्षा दिएकोमा छ जना पास भएका छन्। प्राविधिक धारतर्फबाट २७ जनाले कक्षा १२ को परीक्षा दिएकोमा एक जनामात्रै पास भएका छन्। जनता मावि गदरियाबाट ३९ जना विद्यार्थीले परीक्षा दिएका थिए। तीन जनामात्रै उत्तीर्ण भएका छन्।
कैलालीस्थित यो पालिकामा रहेका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) १० प्रतिशत विद्यार्थीलेमात्रै उत्तीर्ण गरेका थिए। पालिकामा रहेको विभिन्न सामुदायिक विद्यालयबाट ४०२ जना विद्यार्थीले २०८१ को एसइई परीक्षा दिएका थिए। जसमध्ये जम्मा ४१ विद्यार्थी ग्रेडेड भए । ९० प्रतिशत विद्यार्थी ननग्रेडेड भएका थिए।
गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको धेरै प्रयास गरे पनि सुधार हुन नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रले बताउनुभयो। उहाँले विगत केही वर्षयता सामुदायिक विद्यालयको नतिजा खस्केको र सुधार हुन नसकेको उल्लेख गर्नुभयो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा सबै पक्षको कमीकमजोरी रहे पनि खास लापरबाही शिक्षकबाट भइरहेको मिश्रको ठहर छ। “पठनपाठन र सिकाइ उपलब्धि हासिल गराउने कार्यमा प्रत्यक्ष सहभागिता विद्यालय र शिक्षकको छ। त्यसैले विद्यालय र शिक्षक बढी जिम्मेवार छन्”, उहाँले भन्नुभयो।
कैलारीमा शैक्षिक विकासका लागि एक वर्षमा सङ्घीय सरकारको २० करोड अनुदान र पालिकाको करिब दुई करोड गरेर २२ करोड रुपियाँ खर्च हुने गरेको शिक्षा शाखाले जनाएको छ। शिक्षकको तलबमा मात्रै एक वर्षमा १३ करोड रुपियाँ खर्च भइरहेको छ। तर, शैक्षिक नतिजा भने ओरालो लागेको छ।