08/06/2025, 20:48:34

एमसीसीमा देउवाभन्दा ओली झन कडा : माओवादी अध्यक्ष दाहाल


२१ साउन, काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसभन्दा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवाभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको दाहालको भनाइ छ । अध्यक्ष दाहालले आफूहरूको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्प्णीसहित एमसीसी पास गरिएको बताए ।

यस्तो छ दाहालको भनाइ

कांग्रेसभन्दा त केपी ओली त झन कडा । हाम्रा केही साथीहरू त जाऔं भन्ने भयो । झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्त्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भए पनि वार्ता गर्न के हुन्छ भनेर अफ्ठ्यारो मानी-मानी गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, कांग्रेसभन्दा त धेरै बढी रहेछ ।

आइपीएसको सदस्य बनाउने पनि उहाँहरू नै हो । एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरू पनि उहाँहरु नै हो । त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो । तर अनुमोदन त भइसक्थ्यो । त्यसलाई रोक्न र क्रान्ति नै सुरु गर्नसक्ने स्थिति थिएन ।