08/04/2025, 19:42:36

पार्टी फेरि एकताबद्ध भएको छ, सबैखाले गुटबन्दी अन्त्य गर्छौं : माओवादी अध्यक्ष दाहाल


१९ साउन, काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा रहेको सबैखाले गुटबन्दी अन्त्य गर्ने सहमति भएको बताएका छन् । सोमबार स्थायी समितिको बैठकपछि पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले पार्टी पुन: एकताबद्ध भएको बताएका हुन् ।

देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरण गर्न नेतृत्वदायी भूमिका खेलेको पार्टी भएकाले पनि माओवादी पुन: एकताबद्ध भएको छ,’ अध्यक्ष दाहालले भने ।

पार्टीमा रहेका गुटबन्दी अन्त्य गर्नका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको पनि उनले बताए । ‘सबैखाले गुटबन्दी समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ। फेरि एकचोटि जनतामा जाने र देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय भएको छ,’ उनले भने ।

उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको सार्वजनिक रूपमै आलोचना गरेपछि स्थायी समिति बैठकमा पनि उक्त विषयले प्रवेश पाएको थियो । बैठकमा कतिपय नेताले शर्मालाई कारबाही गर्नुपर्नेसम्मको आवाज उठाएका थिए । तर पार्टीमा उक्त खुला रूपमा उक्त विषयबारे छलफल भएको नेताहरूको भनाइ छ । सोमबार उपमहासचिव शर्माले पनि पार्टीमा सबै एजेन्डामा खुला रूपमा छलफल भएको बताए ।

पार्टीमा गम्भीर छलफल भए । सबै एजेन्डामा उच्चस्तरीय छलफल भए । वैचारिक राजनीतिक संगठनात्मक सबै विषयमा । ती छलफलको निष्कर्ष निस्केको छ,’ उनले भने ।