08/04/2025, 10:52:02

जीबी राईलाई पक्राउ गर्न माग गर्दै सहकारीका बचतकर्ता काठमाडौंमा


१९ साउन, काठमाडौं : गीतेन्द्रबाबु राई अर्थात जीबी राई संस्थापक र सञ्चालक रहेको भरतपुरको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारीका बचतकर्ताहरुले काठमाडौंमा सहकारी सम्बद्ध विभिन्न निकायका पदाधिकारीलाई भेटेर आफ्नो माग राखेका छन् ।

बचत रकम हिनामिना गरी फरार भएका जीबी राईलाई तत्काल समाउन र पीडित बचतकर्ताहरुले पैसा फिर्ता पाउने वातावरण बनाउनुपर्ने उनीहरुको माग छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई आइतबार भेटेर उनीहरुले सहकारीको बचत फिर्ता नपाएका पीडितहरुको समस्या समाधान गर्ने सम्बन्धमा विभिन्न उपाए र मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् ।

सहारा सहकारीमा जीबी राईसहित ३८ जनालाई प्रतिवादी बनाए पनि हालसम्म दुईजना मात्रै पक्राउ परेको र जीबीसहित अन्य फरार रहेको हुँदा सबैलाई पक्राउ गर्न उनीहरुले माग गरेका छन् ।

त्यसैगरी सहकारीबाट ऋण लिएका अन्य ऋणिलाई कार्यविधि तयार गरी ऋण बुझाउन आहृवान गर्ने र ऋण चुक्ता गर्ने ठाउँ पनि तोक्न आफूहरुले माग गरेको चितवन सहारा बचत पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए । ऋण चुक्ता गर्छु भन्ने ऋणिलाई ऋण तिर्ने ठाउँ तोक्दिए सहारा चितवनमा तत्कालै १७ देखि १८ करोड रुपैयाँ उठ्ने सम्भावना रहेको दुवाडीले जानकारी दिए ।

त्यसैगरी ठगहरुले एकाघरका साथै साथीभाई अन्य इष्टमित्रका नाममा पनि सम्पत्ति लुकाएर राखेका छन् । यो पत्ता लगाइ बचत फिर्ता गर्नका लागि ठोस कदम चाल्न अनुरोध गर्दछौं,’ सहकारी मन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ । त्यसैगरी पीडित बचतकर्ताहरुले आइतबार नै ललितपुर पुल्चोकमा रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षलाई पनि भेटेर ऋण असुल गर्ने र बचत फिर्ता हुने वातावरण बनाउन आग्रह गरेका छन् ।

उनीहरुले ऋण तिर्दछौं भन्ने ऋणिहरुलाई प्राधिकरणले सहजीकरण गर्नुपर्ने माग गरेका छन् । ‘ऋणीहरुले ऋण तिर्नका लागि यस सहकारी नियमन प्राधिरणले कानुन सम्मत एउटा छुट्टै बैंक खाता सिर्जना गरे ऋण चुक्ता हुन सक्ने देखिन्छ,’ प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख छ ।

त्यसैगरी सहकारी पीडित र ठगीका आरोपित व्यक्तिहरुले मिलापत्र गर्न चाहेमा प्राधिकरणले पहल गर्नुपर्ने आफूहरुको माग रहेको दुवाडीले बताए । सहकारीको रकममध्ये पाँच करोड रुपैयाँ स्थानीय तपरमा ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको दुवाडीको भनाइ छ । यस्तो ऋण तिर्न विधि र ठाउँ तोकेर ताकेता गर्नुपर्ने उनले बताए ।

अदालतमा मुद्दा गएको हुँदा अदालतकै फैसला कुरेर बस्ने हो भने लामो समय लाग्ने र पीडकहरुको रोक्का जायजेथाबाट पीडितहरुले बचत फिर्ता पाउने सम्भावना अत्यन्त न्यून रहेको हुँदा तत्कालै कुनै प्रवन्ध गर्नुपर्ने दुवाडीको भनाइ छ ।

पीडितहरुको रकम फिर्ता दिलाउन सहकारीका सञ्चालक र अन्य आरोपितहरुको शेयर, जग्गा जस्ता चल अचल सम्पत्ति रोक्का राखेका छौं । तर ती चल अचल सम्पत्ति कुनै न कुनै बैंकमा धितो राखेर रोक्का भएको पनि छ । अदालतको फैसला कुर्दा लामो समय लागे बैंकको ब्याज र हर्जना बढ्दै जाँदा त्यसबाट पीडितले रकम पाउने आशा झिनो छ,’ प्राधिकरणलाई बुझाएको पत्रमा उल्लेख छ ।

बरु समयमै ती सम्पत्ति बिक्री गर्न माग गरिएको छ । भरतपुरको सहारा चितवन सहित बुटवलको सुप्रिम सहकारी, पोखराको सुर्यदर्शन, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीका पीडित बचतकर्ताहरुले काठमाडौं पुगेर विभिन्न निकायहरुमा संयुक्त भेटघाट गरेका हुन् ।

यी सबै सहकारीका संस्थापक र सञ्चालक जीवी राई हुन् । आज सोमबार दिउँसो गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको सहारा चितवन पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले जानकारी दिए ।