08/03/2025, 18:30:58

पार्टी बिग्रेको जिम्मा प्रचण्डले लिए म पनि आत्मालोचना गर्न तयार छु : जनार्दन शर्मा


१८ साउन, काठमाडौं : माओवादी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले पार्टीको विधि र पद्धतिलाई ‘मनपरि’ चलाएको भन्दै त्यसको जिम्मा लिनुपर्ने आरोप लगाएका छन् । आइतबार स्थायी समितिमा बैठकमा उपमहासचिव शर्माले पार्टी नेतृत्वले विधि र पद्धति नमान्दा आफूले प्रश्न उठाएको बताएका हुन् ।

पार्टी बिग्रिएको विषयमा दाहालले जिम्मा लिए मात्र आफूले सार्वजनिक रूपमा प्रश्न उठाएको आधारमा आत्मालोचना गर्न तयार भएको शर्माको भनाइ छ । मूल नेतृत्वले नै पार्टीको विधि बिगारेको उनको आरोप छ ।

अध्यक्ष प्रचण्डले पनि विधि, पद्धतिलाई मनपरि चलाउनु भएको छ । यसको जिम्मा उहाँले लिनुपर्छ,’ शर्माको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्षले जिम्मा लिएपछि म आत्मालोचना गर्न तयार छु ।’ उनले अध्यक्ष दाहालले नै गुट चलाएको आरोप समेत लगाए । ‘अध्यक्ष प्रचण्डबाटै गुट सुरु भयो,’ शर्माको दाबी थियो, ‘त्यसपछि म पार्टीभन्दा टाढा पुगेँ ।

जारी स्थायी समितिमा शनिबार २५ नेताले शर्माले विधि उल्लंघन गरी सार्वजनिक मञ्चमा अध्यक्ष दाहालको नेतृत्व गरेकाले आलोचना गर्नुपर्ने बताएका थिए । माओवादीले अघि सारेको सामाजवादी बाटो, वामपन्थी एकता, प्रमुख प्रतिपक्षले खेल्नुपर्ने भूमिका, आगामी कार्यक्रम, पार्टी नेतृत्व सबल बनाउन महाधिवेशनको आवश्यकतामाथि सुझाव दिन स्थायी समिति सदस्यलाई आग्रह गरिएको थियो ।

तर अधिकांश नेताहरूले ‘पार्टीको आन्तरिक एकता’ प्रस्ताव बढी समय खर्चेर सार्वजनिक रूपमा अध्यक्ष दाहालमाथि प्रश्न उठाएका उपमहासचिव शर्मामाथि खनिएका छन् । शनिबार कम्युनिस्ट पार्टीमा कुनै नेतालाई कारबाही गर्नुअघि आत्मालोचना गर्न लगाइन्छ । आत्मालोचना चित्त नुबझे कारबाहीको प्रक्रिया अघि बढाइन्छ ।