१५ साउन, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा माओवादीले प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार नै राजधानी निर्माण गर्नुपर्ने अडान राखेको हो ।
प्रदेश सभामा बोल्दै माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमबिक्रम भाटले प्रदेश राजधानी सार्ने भन्दै आइरहेका कुरामा पार्टीको गम्भीर चासो र चिन्ता भएको बताए । प्रदेश सभाले यसअघि गरेको निर्णयअनुसार राजधानी निर्माण गर्नुपर्ने पक्षमा आफूहरू रहेको भन्दै उनले कुनै प्राविधिक र कानुनी समस्या भए खुलस्त छलफल गर्न आवश्यक भएको बताए ।
‘प्रदेश सभाले यसअघि गरेको निर्णय अहिलेसम्म किन कार्यान्वयन गरिएन ? कहाँ समस्या आयो ?,’ भाटले भने, ‘त्यसको कानुनी र प्राविधिक आधार के हो ? अन्तर्राष्ट्रिय सीमा नजिकै भएको धनगढी कहाँ र कसरी साछौँ ?’ उनले राजधानीको विषयलाई सत्ताको हतियार बनाउन नहुने र कुनै समस्या देखिएको भए खुलस्त छलफल गर्न सकिने बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीले समेत दुई तिहाइ बहुमतले गरेको निर्णय परिवर्तन गरेर राजधानी सार्ने भन्दै भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएको छ । प्रदेश सभाको बैठकमा बोल्दै दलका उपनेता प्रकाश रावलले अनावश्यक कुरा गरेर सरकारले स्थायित्वमा अवरोध सिर्जना गर्ने काम गरेको दाबी गरे ।
‘दुई तिहाइ बहुमतले गोदावरीमा राजधानी बनाउने भनेर गरेको थियो । अहिले स्थान परिवर्तन गर्ने कुरा गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको छ । यसले स्थायित्व होइन अस्थायी बनाउन बल पुगेको छ,’ रावलले भने, ‘सरकारले कहिले धनगढी सार्ने, कहिले पूर्व मुख्यमन्त्रीसँग छलफल गर्ने कुराले स्थायित्वमा अवरोध सिर्जना भइरहेको छ ।’
राजधानी सार्ने सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री कमलबहादुर शाहले त्यसबारे विभिन्न कोणबाट छलफल र बहस आफूले चलाएको कुरा यथार्थ भएको बताए । तर राजधानी निर्माण गर्ने कुरा आवश्यकता हो की होइन र समस्याका बारेमा छलफल गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।
‘राजधानी निर्माण गर्ने सन्दर्भ आवश्यकता हो की होइन ? जटिलता र समस्या कहाँ छन् भन्ने कुरामा बहस हुनपर्छ कि पर्दैन् ? हो मैले बहस र छलफल चलाएको यथार्थ हो,’ मुख्यमन्त्री शाहले भने, ‘यो संघीयता र प्रदेशवासीसँग जोडिएको कुरा भएकाले गम्भीर हुनैपर्छ । मलाई विश्वास छ यसबारे गम्भीर रूपमा छलफल हुनेछ ।’
कैलालीको गोदावरी नगरपालिका–२ र ४ को तेघरी क्षेत्रमा तोकिएको प्रदेशको राजधानी कार्यान्वयन गर्न जटिलता देखिएको भन्दै मुख्यमन्त्री शाहले धनगढी सार्ने गरी छलफल चलाइरहेका छन् । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश राजधानीबारे मुख्यमन्त्रीको जवाफ खोजे पनि बिहीबारको बैठकमा कांग्रेस र एमाले भने मौन थिए ।