१३ साउन, काठमाडौं : माओवादी उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टीभित्र छुट्टै गुट चलाएको, पार्टी विभाजनका लागि तयारी गरेको आरोप हेडक्वार्टरले लगाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा चार बुँदे भनाइ सार्वजनिक गरी विशेष महाधिवेशन गरी पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् ।
‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्, ‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।’
उनले जेठमा भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे पार्टीले साख गिरेको समेत बताएका छन् । ‘हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित होऔं,’ उनको भनाइ छ ।
उपमहासचिव शर्माले माओवादीमा वैचारिक अस्पष्टता, राजनीति अन्यौलता भएकाले पार्टी पुनर्गठन गर्नुपर्ने माग समेत गरेका छन् । ‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ,’ उनले भने ।
उपमहासचिव शर्माले पार्टी पुनर्गठनले मुलुकलाई संकट समाधान गर्न संविधान संशोधनको प्रस्तावसमेत गरेका छन् । ‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन,अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो,’ उनले भनेका छन्, ‘अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ । यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ ।’
उपमहासचिव शर्माले देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने दाबी समेत गरेका छन् ।
पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा आलोचना गरेपछि माओवादी केन्द्रभित्रको अन्तरद्वन्द्व सतहमा आएको हो । अध्यक्ष दाहाल र शर्माबीच सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप चलिरहेको छ ।