श्रावण १३, काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक संघ-संस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयमा आज यहाँ आयोजित छलफलमा उनले सामाजिक सङ्घ-संस्थामा माओवादी केन्द्रको हस्तक्षेप सकारात्मक हुनुपर्नेमा जोड दिँदै बदलिएको राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सहभागी भई सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक भएको बताए ।
अध्यक्ष दाहालले माओवादी नेता तथा कार्यकर्ताहरू विभिन्न सङ्घसंस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति परिवर्तन गर्न जरुरी भएको बताए । उनले भने, ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्छ र सामाजिक सङ्घसंस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णयअनुसार जनतामा मात्रै होइन, पार्टीको तल्लो तहसम्म एउटै धारणा बनाउन आवश्यक छ।‘
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार माओवादी केन्द्रले अगाडि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अरू पार्टीको सोचभन्दा फरक रहेको उल्लेख गर्दै, उक्त सोचलाई तलसम्म बुझाएर माओवादी पार्टी फरक हो भन्ने स्थापित गर्न आवश्यक भएको उनले बताए ।