07/23/2025, 23:47:49

गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छ : माओवादी अध्यक्ष प्रचण्ड


काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक र सक्रिय रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहमा उहाँले गणतन्त्र संरक्षणको सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई पनि रहेको स्पष्ट पार्नुभयो । माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएका उल्लेख गर्दै उहाँले ती अधिकार कसैले उल्ट्याउन नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि अहिले विभिन्न किसिमका प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो र सरोकार रहेको धारणा राख्नुभयो ।

उहाँले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्का रूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेको भन्दै दुःख प्रकट गर्नुभयो । “आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने चलन चलेको देखिन्छ”, उहाँले भन्नुभयो ।

कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले त्यसले मुलुकलाई गलत दिशातर्फ डो¥याउन सक्ने खतरा औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन हुने प्रवृत्तिहरू हाबी हुँदै गइरहेका छन् । यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।

कार्यक्रमको समापनमा अध्यक्ष दाहालले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।