07/20/2025, 11:35:40

राज्यको मूलप्रवाहमा ल्याउन समावेशीकरणको अवधारणा अवलम्बन गर्नुपर्छ : माधवकुमार नेपाल


काठमाडौँ, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा पछि परेका वर्ग तथा समुदायलाई समान पहुँचमा ल्याउनु लोकतान्त्रिक सरकारको मुख्य दायित्व भएको बताउनुभएको छ ।

नेपाल स्पोर्टस् सेन्टरद्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शासन व्यवस्थाको कमजोरीकै कारण लामो समयदेखि राज्यको मूलप्रवाहमा आउन नसकेका समुदायलाई अगाडि बढाउन समावेशीकरण र सबलीकरणको अवधारणा अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपाली समाज बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय र बहुधार्मिक भौगोलिक विविधतायुक्त समाज भएको उल्लेख गर्दै उहाँले राज्यशक्तिको प्रयोग र अवसरबाट विमुख हुँदै आएका समुदायको आर्थिक तथा सामाजिक अवस्था समान नरहेको उल्लेख गर्नुभयो ।

विभिन्न अन्तरराष्ट्रिय तहका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीले देशको कीर्तिमान कायम गरेको जिकिर गर्दै अध्यक्ष नेपालले खेलकुद क्षेत्रको विकासका लागि सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । आत्मरक्षाका लागि खेलकुद महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विश्वका धेरै देशले अवलम्बन गर्दै आएको वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिनुभयो ।

पार्टीका नेता वामदेव गौतमले खेलाडीले प्राप्त गर्ने सफलताले राष्ट्रको गौरव बढाउने भएकाले उनीहरू देशभक्त, लोकतान्त्रिक, प्रगतिशील, समाजवादी चिन्तनका साथ अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल खेलकुद महासङ्घ समाजवादीका अध्यक्ष अर्जुनभक्त राई र महासङ्घकी उपाध्यक्ष रीता कोइरालाले वास्तविक खेलाडी र खेलकर्मी निराश भइरहेको अहिलेको अवस्थालाई सुधार गर्न नीतिगत निर्णयको खाँचो औँल्याउनुभयो । सो अवसरमा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका खेलाडीलाई सम्मान गरिएको थियो ।