गोरखा, ३ साउनः गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा फोन आयो । गोरखा नगरपालिका-११ को एक विद्यालयमा पढाउने शिक्षिकाले प्रहरीलाई ११ वर्षीया बालिकालाई निजका बुबाले जबरर्जस्ती करणी गरेको भन्दै उजुरी दिइन् ।
प्रहरीले तत्कालै बालिकाको घर पुगेर निजका बुबालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थाल्यो । हाल निजका बुबाविरुद्ध बालयौन दुव्र्यवहार शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो । “आमा शारीरिक रूपमा अशक्त भएपछि बुबाले रक्सी सेवन गरी छोरीमाथि यौन शोषण गर्ने गरेका अनुसन्धानका क्रममा पाएका छौँ”, उहाँले भन्नुभयो ।
उक्त घटनाभन्दा १५ दिनअघि जिल्ला प्रहरी कार्यालयमा त्यस्तै प्रकृतिको अर्को घटना दर्ता भएको थियो । गोरखा-५ की १७ वर्षीया किशोरी शारीरिक रूपमा अशक्त भएकै कारण बुबाबाट यौन शोषणमा परेकी छिन् । पारिवारिक झगडाका कारण आमाले छोडेपछि रेखदेख गर्ने नाममा बुबाबाट यौन शोषण भोग्नु परेको उनी बताउँछिन् ।
“रक्सी खाएर बुबाले वर्षौँदेखि उनीमाथि डरत्रास, धाकधम्की देखाएर यौन शोषण गर्दै आएका रहेछन्”, प्रहरी उपरीक्षक विकले भन्नुभयो, “सहनै नसक्ने भएपछि छरछिमेकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अरोपीलाई नियन्त्रणमा लिई जबर्जस्ती करणी शीर्षकमा अदालतमा मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेका छौँ ।”
गोरखा-८ की १५ वर्षीया किशोरीको कहानी पनि परक छैन । उनले बुबाबाट यौन शोषणमा पर्ने गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि निजका बुबालाई पक्राउ गरेर जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक विकले जानकारी दिनुभयो । आमा विदेशमा रहेकाले बुबाले रक्सी खाएर छोरीमाथि यौन दुव्र्यवहार गर्ने गरेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीमा जानकारीमा आएकाबाहेक पनि यस्ता धेरै घटना गाउँबस्तीमा छन् । “घटनाको प्रकृति र परिवेश अध्ययन गर्दा विशेषगरी आर्थिक, सामाजिक रूपमा पछाडि पारिएका समुदायमा यस्तो घटना बढी घटिरहेका छन्”, प्रहरी उपरीक्षक विकले भन्नुभयो, “शिक्षा, चेतनाको अभाव, मादकपदार्थ सेवन, पारिवारिक झगडालगायत कारणले यस्ता घटना बढी हुने गरेका पाइएको छ ।”