मङ्गलबार, पुष ०९, २०८१

काभ्रेको ‘तीनधारे झरना’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ


९ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका-२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ। केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ । छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । अग्लो महाभारत, वरिपरि हरियाली पहाडका थुम्काले झरनाको सौन्र्दयतालाई बेहुली झैँ सिँगारको छ । प्राकृतिक विविधतासँग भौतिक पूर्वाधारले झरनाको सुन्दरतालाई निखारपन ल्याएको छ ।

काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ । काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ ।

दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ । नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ । पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो ।

नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताए । ‘गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ’, उनले भने, ‘झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ।’

तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिए । पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उनको भनाइ छ । अध्यक्ष लामाले झरनालाई बाह्रै महिना सञ्चालनका लागि व्यवस्थापकीय काम गरिरहेको उल्लेख गरे । उनले पदमार्गमा सिँडी निर्माण, शौचालय, फोहर व्यवस्थापन, खानेपानीको व्यवस्थापनलगायत क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजाने योजनामा पालिका रहेको जानकारी दिए ।

‘झरनालाई प्रवर्द्धन गर्नका लागि आसपासका बासिन्दालाई होमस्टे (घरबास) सम्बन्धी तालिम दिएका छौँ । अहिले चार/पाँच वटा होमस्टे बनिसकेका छन्’, अध्यक्ष लामाले भने, ‘पर्यटक वृद्धि भएसँगै होमस्टे बढाउने, पदमार्गलाई व्यवस्थित बनाउने, ठाउँ-ठाउँमा विश्रामस्थल, झरनामा पोखरी निर्माणलगायत कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिने छौं ।’ उहाँका अनुसार तीन/चार वर्षको अवधिमा उल्लेख्य सङ्ख्यामा झरना अवलोकन गर्न पर्यटक पुगेका छन् ।

होमस्टेमा फापरको ढिँडो, हरियो मकै, गुन्द्रुकको अचार, काँक्रोलगायत स्थानीय परिकारको स्वाद लिन पाइन्छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा झरना स्थलमा स्वागतद्वार निर्माण गर्ने, बाटोमा रेलिङ र ढुङ्गा विछ्याउने योजना छ । भविष्यमा निश्चित शुल्क तोकेर आम्दानीको स्रोत बनाउने गाउँपालिकाको योजना छ । नमोबुद्ध आउने पर्यटकलाई तीनधारे झरनामा आकर्षण गर्ने र झरनाबाट माथितिर ताराखसे तालभएर पदमार्ग विस्तार गर्ने योजना छ ।

सङ्घीय राजधानी काठमाडौँ नजिक रहेको यो गन्तव्यमा पछिल्लो समय पर्यटक बाक्लो सङ्ख्यामा जाने गरेका छन् । तीनधारे झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खला हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा झरना स्थल पुगिन्छ । महाभारत लेकबाट तीनवटा धारा झरेकाले यसलाई तीनधारे झरना भनिएको स्थानीय बताउँछन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना हेर्न सो ठाउँमा सिजनमा दैनिक पाँच छ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका घरबास कार्यक्रम ‘होमस्टे’ एण्ड फम हाउसका सञ्चालक सुनिल तामाङले जानकारी दिए । उनका अनुसार अन्य समयमा भन्दा साउनदेखि असोजसम्म उल्लेख्य सङ्ख्यामा पर्यटक आउँछन् । शुक्रबार र बिदाको दिन आन्तरिक पर्यटकको उल्लेख्य उपस्सित हुने उनले बताए ।

विसं २०८० मा स्थापना भएको होमस्टेमा अहिले पाहुनाको भीड लाग्ने गर्दछ । उक्त स्थानबाट सूर्य उदाएको र अस्ताएको देख्न पाइन्छ । हिउँदमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा पनि अवलोकन गर्न सकिन्छ । काठमाडौँ नजिकको गन्तव्य भएर पनि धेरै सङ्ख्यामा पर्यटक आउन नसकेका घरबास सञ्चालक बताउँछन् । सडक बाटो राम्रो भइदिए अगामी दिनमा पर्यटकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ । झरना अवलोकनमा जाने पर्यटकलाई रोशी किनारका हरियाली फाँटले झनै मोहित बनाउँछ । रैथाने बस्ती, आकर्षक घर, स्थानीय बालीनाली र परिकारको आनन्द यहाँका विशेषता हो ।

कसरी पुग्ने तीनधारे झरनामा

विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।

तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताए । चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उनले जानकारी दिए । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ। नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउछन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading