काठमाडौँ, २८ असार : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मपत्नी स्वर्गीय सीता दाहालको निष्ठा र आदर्शले जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहेको बताउनुभएको छ ।
आज स्वर्गीय दाहालको दोस्रो स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले भन्नुभएको छ, “सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर सङ्घर्ष गरिरहिन् । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा सङ्घर्ष गर्न प्रेरित गरिरहने छ ! आज उनको स्मृतिमा हाम्रो परिवार र पार्टीलाई सद्भाव व्यक्त गर्नुहुने सम्पूर्णप्रति आभारसहित धन्यवाद व्यक्त गर्दछु ।”
अध्यक्ष दाहालले थप्नुभएको छ, “मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र)की सल्लाहकार स्व सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।”
यसैबीच अध्यक्ष दाहालले आजै उहाँको सम्झनामा मानवसेवा आश्रममा पुगेर आश्रितहरूलाई भोजन सेवा गर्नुभएको छ । सो क्रममा अध्यक्ष दाहालले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै आफ्नो तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।