07/11/2025, 00:24:52

‘एनभिडिया’ बन्यो विश्वकै पहिलो ४ ट्रिलियन डलरको कम्पनी


२६ असार, काठमाडौँ : अमेरिकी चिप निर्माता कम्पनी, एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान कम्पनी मात्रै नभएर, बजार पूँजीकरण ४० खर्ब अमेरिकी डलर पुग्ने विश्वकै पहिलो कम्पनीसमेत बनेको छ ।

एनभिडियाको शेयर बुधबार २ प्रतिशतले उकालो लागेसँगै बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको थियो । कुन कम्पनीले पहिला चार ट्रिलियनको सीमा छुन्छन् भन्नेमा उत्सुकता रहँदै आएको थियो ।

जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेन एआई) मा आएको उछालमा त्यसलाई आवश्यक हार्डवेयर (जीपीयू, चिप लगायत) निर्माण गरिरहेको एनभिडियाको सेयर किन्न लगानीकर्ताहरू हौसिएका छन् । सार्वजनिक रूपमा कारोबार हुने विश्वका कम्पनीहरूमध्ये एनभिडियाको बजार पूँजीकरणले इतिहासमै पहिलोपटक यस्तो कीर्तिमानी बनाएको हो ।

यसले माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट (गुगल), मेटा, साउदी आराम्को सबैलाई दुवैलाई उछिनेको छ । सन् २०२३ मा पहिलोपल्ट १ ट्रिलियन डलरको कम्पनी बनेको एनभिडियाले एआईमा आधारित प्रविधि विकास गर्ने होड बढेसँगै निरन्तर नाफा कमाइरहेको छ । कम्पनीले निर्माण गर्ने चिपहरूलाई अहिलेको सयमा सुन र इन्धनजत्तिकै बहुमूल्य मानिन्छ ।

सन् १९९३ मा क्यालिफोर्नियामा स्थापना भएको एनभिडियाले सन् २०२४ को फेब्रुअरीमा २ ट्रिलियन डलरको स्तर पार गरेको थियो र जुन महिनामा ३ ट्रिलियन डलर नाघेको थियो । सन् २०२२ को नोभेम्बरमा च्याटजीपीटी सार्वजनिक भएयता एआई हार्डवेयर र चिपको बजार ह्वात्तै बढेको छ । यसबाट एनभिडियाले ठूलो मुनाफा आर्जन गरिरहेको छ । कम्पनीले लार्ज ल्या‌ंग्वेज मोडल (एलएलएम) का आवश्यक ग्राफिक्स प्रोसेसिङ युनिट (जपीयू) निर्माण गर्दै आएको छ ।

पछिल्लो पाँच वर्षमा एआई चिप र हार्डवेयरको मागले एनभिडियाको सेयर मूल्य १५ गुणाभन्दा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो एक महिनामा एनभिडियाको सेयर १५ प्रतिशतले वृद्धि भएको थियो भने यस वर्षको सुरुदेखि अहिलेसम्म २२ प्रतिशतले बढेको छ ।

वर्तमान भू-राजनीतिक तनाव र चीनमा चिप निर्यातमा प्रतिबन्धका बीचमा एनभिडियाको बजार भने बढिरहेकै छ । यसै वर्ष सार्वजनिक भएको चीनको डिपसिक एआई मोडल निकै सस्तो मूल्यमा निर्माण भएको हल्लापछि चिप निर्माताहरूको बजारमा चिन्ता छाएको थियो । तर त्यसबाट पनि कम्पनी पुनः उकासिएको छ । सीएनएनका अनुसार कम्पनीले चीनका लागि बनाएको एच२० चिपमा निर्यात प्रतिबन्ध लागेपछि एनिभिडियाले ८ अर्ब डलरको बिक्री गुम्ने जनाएको थियो ।

अमेरिकी उद्योगका लागि महत्वपूर्ण चिनियाँ बजार बन्द भएको छ,’ एनभिडियाका सीईओ जेन्सेन हुआङले त्यो बेला भनेका थिए, ‘५० अर्ब डलरको चिनियाँ बजारमा चिप बिक्री गर्न नपाउँदा हामीलाई विशाला घाटा हुनेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार कर वृद्धि गरेपछि एनभिडियाको शेयर मूल्यका गिरावट आएको थियो । बीबीसीका अनुसार आठ वर्षअघि कम्पनीको सेयर मूल्य हालको मूल्यको १ प्रतिशतभन्दा पनि कम थियो ।

कम्पनीको चमत्कारिक उन्नतीसँगै एनभिडियाका प्रमुख हुआङको प्रोफाइल पनि ह्वात्तै बढेको छ । मेटाका प्रमुख मार्क जकरबर्ग हुआङलाई ‘प्रविधि क्षेत्रका टेलर स्विफ्ट’ को संज्ञा दिन्छन् । हुआङ विशेषगरी ताइवानमा यति लोकप्रिय छन्, उनलाई प्रसंशकहरूले रक स्टारजस्तो व्यवहार गर्ने बीबीसीमा सार्लट एडबार्डसले लेखेकी छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ