11/19/2025, 21:23:00
बुधबार, मङि्सर ०३, २०८२

स्थानीय तहको बजेट कटौती हुँदैन : लुम्बिनी प्रदेश मुख्यमन्त्री आचार्य


दाङ, मंसिर ३ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवाप्रवाह छिटो र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले समान रूपमा ध्यान दिने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका पदाधिकारीसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले जनतासँग प्रत्यक्ष सम्बन्धित काममा छिटोपन र सहजता अनिवार्य रहेको बताउनुभयो ।

जनताको काम छिटो र छरितो ढंगले सम्पन्न गर्न तीनै तहका सरकार एकमत भएर अघि बढ्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘सुशासनलाई मुख्य लक्ष्य बनाएर सेवा प्रवाह सुधार गर्न प्रदेश सरकार निरन्तर प्रयासरत छ । यसमा स्थानीय सरकारले पनि आफ्नो कार्यक्रम बनाउन आवश्यक छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गरे पनि स्थानीय तहमा पठाइने समपुरक, विशेष र समानीकरण अनुदानमा कटौती नहुने स्पष्ट पार्नुभएको छ । ‘प्रदेशका विकास योजनामा मात्र २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेका हौं’ उहाँले भन्नुभयो‘ । स्थानीय तहमा पठाइने तीन प्रकारका अनुदानको रकम कटौती हुँदैन । ती योजना कार्यान्वयन गर्न सक्नुहुन्छ ।’

जेन-जी आन्दोलनका क्रममा स्थानीय तहका कार्यालयमा भएको आगजनी र त्यसले पारेको प्रभावबारे पनि छलफल भएको छ । त्यही अवसरमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितिले मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमार्फत प्रदेश, स्थानीय समन्वय परिषद्को बैठक बोलाउन आग्रह गरेको छ । महासंघले पछिल्लो राजनीतिक अवस्थाले तीन तहबिच सहकार्यको आवश्यकता अझ बढेको उल्लेख गर्दै विभिन्न मागहरू अघि सारेको छ ।

महासंघले प्रदेश समन्वय परिषद्को बैठक मिति छिटो टुंगो लगाउन, प्रदेश र स्थानीय तहबिच अन्तरसम्बन्ध मजबुत बनाउने कदम चाल्न, भदौ २३ र २४ गतेका घटनाबाट भएका क्षतिको पुनर्निर्माण योजना बनाउन तथा प्रदेश र स्थानीय शासन सबलीकरण कार्यक्रममा उपलब्ध स्रोत साधन प्रभावकारी रूपमा प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी स्थानीय शासन सबलीकरण कार्यक्रम अन्तर्गत नवप्रवर्तन साझेदारी परियोजनाबारे समयमै सूचना प्रवाह हुने व्यवस्था मिलाउन, प्रदेश–स्थानीय तहबिच हुने बैठकहरू नियमित, कार्यान्वयनमुखी र परिणाममुखी बनाउन, साथै समानीकरण, सशर्त र विशेष अनुदान समयमै उपलब्ध गराउने व्यवस्था मिलाउन महासंघले माग गरेको छ ।

गाउँपालिका महासंघका अध्यक्ष विष्णुकुमार गिरी, सचिव झगबहादुर विश्वकर्मा, कोषाध्यक्ष तुल्सीराम पुन मगर लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनीका प्रदेशको बैठक पछि मुख्यमन्त्री आचार्यलाई भेट गरिएको गाउँपालिका राष्ट्रिय महासंघका समन्वय अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।

– सन्तोष दहित