काठमाडौँ, कात्तिक २५ : इन्टरनेटमा आधारित गतिविधि बढ्दा भ्वाइस सेवा उपलब्ध गराइरहेका सेवाप्रदायकको व्यवसाय नै बन्द हुने सम्भावना बढेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्षेपण गरेको छ । खास गरी ती सेवाप्रदायकको आय निरन्तर रूपमा घट्दै गइरहेकाले यस्तो जोखिमको सम्भावना देखिएको नियामकको निष्कर्ष छ ।
एकातिर अत्यधिक करका कारण बढिरहेको सञ्चालन खर्च र अर्कातिर सेवाको मूल्य प्रभावित हुँदा भ्वाइस सेवाप्रदायकको भविष्यप्रति नियामकले चुनौती देखेको हो । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले व्यवसाय बन्द हुने सम्भावना कम गर्न नियामकीय उपकरण प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औँल्याएको छ । ‘सेवाप्रदायकको आयको स्तर कायम गर्दै आगामी दिनमा सञ्चालन आयमा वृद्धि गर्ने नियामकीय उपकरण प्रयोगमा ल्याउनुपर्ने’ प्रतिवेदनमा उल्लेख छ ।
भ्वाइस सेवाप्रदायकको अस्तित्व नै सङ्कटमा देखेको प्राधिकरणले अर्कातिर यस्तो सेवाबाट प्राप्त हुने राजस्व बढाएर सेवाप्रदायकको वित्तीय दिगोपना कायम गर्नुपर्र्ने चुनौती पनि उल्लेख गरेको छ । सेवाप्रदायकले सरकारले यस क्षेत्रलाई अत्यधिक करको दायित्व कायम गरेकाले सेवा सञ्चालनमै कठिनाइ देखा पर्न थालेको गुनासो गर्दै आएका छन् ।
एकातिर घट्दो आम्दानी र अर्कातिर बढ्दो सञ्चालन आयका कारण दूरसञ्चार क्षेत्र यतिबेला सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । अहिले नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रबाट सञ्चालित एनसेलले भ्वाइस सेवा उपलब्ध गराइरहेका छन् । यी कम्पनीले भ्वाइसबाट प्राप्त गर्ने आम्दानी पछिल्लो समय निरन्तर घटिरहेको छ ।
पाँच वर्षमा तेह्र अर्ब गुम्यो
भ्वाइस सेवाप्रदायकको आम्दानी पछिल्लो पाँच वर्षमा वार्षिक १३ अर्ब रुपियाँले गुमेको देखिन्छ । प्राधिकरणको तथ्याङ्क अनुसार आव २०७६/७७ मा कुल ८१ अर्ब २० करोड रुपियाँ आम्दानी गरेका यी सेवाप्रदायकको १३ अर्ब रुपियाँले आम्दानी घटेर आव २०८०/८१ मा ६८ अर्ब ११ करोड रुपियाँमा खुम्चिएको छ । पुससम्म अन्तिम विवरण बुझाउने समय बाँकी हुने भएकाले गत आवको विवरण प्रतिवेदनमा समेटिएको छैन । सेवाप्रदायकको पाँच वर्षको आम्दानीको प्रवृत्ति हेर्दा यो निरन्तर घट्दो क्रममै देखिन्छ । आव २०७७/७८ मा ७५ अर्ब ७१ करोड रुपियाँ आम्दानी गरेका सेवाप्रदायकले अर्को वर्ष केही बढाएर ७७ अर्ब रुपियाँ पु¥याए पनि त्यसलगत्तै आव २०७९/८० मा आम्दानी घटेर ७२ अर्ब ८४ करोड रुपियाँ पुगेको छ ।
इन्टरनेट सेवाप्रदायकले आक्रामक रूपमा गरिरहेको बजार विस्तार र फोनकै लागि म्यासेन्जर, ह्वाट्सएप, भाइबर जस्ता ओभर दी टप (ओटिटी) सेवाप्रदायकको बढ्दो प्रयोगले दूरसञ्चार सेवाप्रदायकको भ्वाइस कलको आम्दानी घटाएको छ । अन्तर्राष्ट्रिय कलबाट प्राप्त हुने अत्यधिक नाफासहितको आम्दानी पनि ओटिटी सेवाप्रदायकले खोसिदिँदा भ्वाइस सेवाप्रदायकहरू आम्दानी सङ्कुचनको अवस्थामा पुगेका छन्, जसलाई एक दर्जन करको भारले दबाबमा राखेको छ ।
भ्वाइस सेवाप्रदायकले अहिले दूरसञ्चार प्राधिकरणलाई लाइसेन्स दस्तुर, स्पेक्ट्रम शुल्क, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी शीर्षकमा बार्षिक छ अब रुपियाँभन्दा बढी बुझाउँदै आएका छन् । यसबाहेक फ्रिक्वेन्सी शुल्क वार्षिक करिब दुई अर्ब रुपियाँ र नवीकरण दस्तुरको किस्ताबापत पनि उत्तिकै शुल्क बुझाउनुपर्ने दायित्व सेवाप्रदायकलाई छ । त्यस्तै मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महसुल, स्वामित्व कर, दूरसञ्चार सेवा शुल्क र टिडिएसलगायत शीर्षकमा यी सेवाप्रदायकले वार्षिक अर्र्बौं रुपियाँ सरकारको राजस्व खातामा दाखिला गर्दै आएका छन् ।
प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार चार लाख १३ हजारले फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा उपयोग गर्छन् भने दुई करोड ९३ लाख वटा सिमकार्ड बिक्री भएको छ, जसलाई प्राधिकरणले मोबाइल भ्वाइस प्रयोगकर्ताका रूपमा वर्गीकरण गर्छ । कुल मोबाइल भ्वाइस प्रयोगकर्तामध्ये एक करोड ५७ लाख ६८ हजार नेपाल टेलिकम र एक करोड ३९ लाख ८१ हजार एनसेलका ग्राहक छन् । त्यस्तै इन्टरनेटतर्फ निजी सेवाप्रदायकका २९ लाख २५ हजार र टेलिकमको एफटिटिएचका तीन लाख ३१ हजारसहित ३२ लाख ५७ हजार ग्राहक छन् । त्यस्तै मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या दुई करोड ५८ लाख रहेको प्राधिकरणको तथ्याङ्क छ । जसमध्ये आठ लाख ३४ हजार थ्रिजी र दुई करोड ५८ लाख फोरजी प्रयोगकर्ता छन् ।
– विश्वास रेग्मी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








